
काठमाडौं । पटकपटकको विश्वकप विजेता ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस आज (मंगलबार) नेपाल आउँदै छन् ।
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनका खेल हेर्न ब्राजिलियन फुटबलर बिहानै आइपुग्दैछन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले कार्लोस बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिएको छ ।
उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका कारण उनको भ्रमण स्थगित भएको थियो ।
कार्लोस विश्वकै उत्कृष्ट रक्षकमध्येका १ हुन् । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । सन् २००२ को फिफा विश्वकप जिताउन उनको महत्वपूर्ण भूमिका थियो ।



















