सुनसरीमा पक्राउ परेका तेजेन्द्र : गाँजाको गाडी बिसाएर लिन गएका थिए ब्राउन सुगर

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार २०:१५

विराटनगर । ठूलो परिमाणमा गाँजा लोड गरिएको गाडी नेपालतर्फ बिसाएर भारतमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) लिन गएका १ जना मंगलबार दिउँसो सुनसरीबाट पक्राउ परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका–५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार कार्कीलाई बिहान १०ः४० बजेतिर सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ शंकास्पद तरिकाले आउँदै गरेका कार्कीलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । उनको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु २ ग्राम बरामद भएको डीएसपी खतिवडाले बताए ।

उनका अनुसार नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रदेश १–०२–००२ च ५३४८ नम्बरको पिकअप गाडी नेपालतर्फ नै पार्किङ गरेर भारत गएको कार्कीले बताए । कोशी–१ लौकही बजारमा पार्किङ गरेर राखेको उक्त गाडी खानतलासी गर्दा ३ क्वीन्टलभन्दा बढी लागुऔषध गाँजा फेला परेको जानकारी खतिवडाले दिए ।

उनका अनुसार ११ वटा बोरामा ‘प्याक’ गरेर गाडीभित्र राखिएको ३ सय २३ किलोग्राम २ सय १० ग्राम गाँजा बरामद गरिएको हो । बरामद भएको लागुऔषध र गाडीसहित पक्राउ परेका कार्कीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

‘३ क्वीन्टलभन्दा बढी गाँजा लोड गरिएको पिकअप गाडी नेपालतर्फ नै पार्किङ गरेको पाइयो । चालक भने लागुऔषध खैरो हेरोइन लिनलाई भारततर्फ गएका रहेछन् । भारतबाट लिएर आउँदै गर्दा फेला पारेर पक्राउ गरियो । पछि सोधपुछ गर्दा गाँजा लोड गरेको गाडी बिसाएर गएको पाइयो,’ खतिवडाले भने ।

पछिल्लो समय सुनसरी प्रहरीले लागुऔषध नियन्त्रणमा सक्रियता बढाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले लागुऔषधको ओसारपसार एवं कारोबार नियन्त्रणमा लिन र यसको अवैध धन्दामा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका छन् ।

सुनसरी प्रहरीको सक्रियतासँगै विभिन्न प्रकारका लागुऔषधसहित त्यसको धन्दामा संलग्नहरु पक्राउ पर्ने क्रम तीव्र भएको छ । लागुऔषधविरुद्धको कारबाहीलाई व्यापक बनाइएको एसपी तिम्सिनाले बताए ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.