
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू–कस्मीरस्थित पहलगाममा भएको घटनाको निन्दा एवं भर्त्सना गरेका छन् ।
घटनाको भर्त्सना गर्दै उनले आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका सबैप्रीत समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धतासमेत जनाएका छन् ।
यस्ता किसिमका सबै आतंकवादी कार्यहरूको उनले कडा भर्त्सना गरेका हुन् । आक्रमणमा नेपाली नागरिक परेको आशंकाका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले दिए ।

ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतंवादी कार्यहरूको कडा निन्दा गर्दछ।’
उनले भनेका छन्, ‘आक्रमणमा नेपाली नागरिक परेको आशंका सम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ । पीडितमध्ये १नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ।’
यसैबीच, उक्त आतंकवादी हमलामा निर्दोष पर्यटकहरू मारिएको घटनाको नेपाल सरकारले समेत कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतंकवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतंकवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आतंकवादी हमलामा परेर २७ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । आक्रमणमा ३६ जनाभन्दा बढी घाइते भएको दाबी गरिएको छ ।

























