
काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा दक्षिण एसियाली यूथ टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडीको सहभागिता रहने संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी गराए । भुटान बाहेक सबै दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ ।
यु १९ र यु १५ उमेर समूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी जम्मा १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबल टेनिसको छनोटका रूपमा समेत रहेको टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास वासुकलाले जानकारी गराए ।
मुख्य प्रशिक्षक वासुकलाका अनुसार यु १९ को टिम स्पर्धामा पहिलो र दोस्रो हुने टोली एसियाली जुनियर टेबल टेनिसका स्वतः छनोट हुने छन् ।
यो उपलब्धि हासिल गर्न नसक्ने राष्ट्रको हकमा प्रत्येक राष्ट्रलाई यु १५ उमेर समूहमा समान १ / १ पुरुष / महिला खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागिताका लागि कोटा प्रदान गरिने छ ।
आयोजक संघका अध्यक्ष बृजेन्द्रबहादुर हमालले प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आभार प्रकट गरे ।
एसियाली टेबल टेनिस युनियनको वार्षिक क्यालेन्डर अनुसार हुन लागेको ४ दिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।



















