
काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट निष्कासित (डिपोर्ट) हुँदै नेपाल आउनासाथ पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको हो ।
अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा थिए । सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइकेलका अनुसार उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानहद तोकेर राख्नु भनी आदेश दिएको हो ।
सर्वोच्चको आदेश अनुसार अब प्रहरीले उनीहरुलाई थुनामुक्त गर्नुपर्नेछ । सर्वोच्च अदालतले दुई महिनाभित्र उनीहरूमाथिको अनुसन्धान टुंग्याउन पनि आदेश जारी गरेको छ ।

























