घर-सम्पत्ति बिमामा विकृति, समयमै नियन्त्रण जरुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १५, सोमबार १७:००

नेपालमा घर र सम्पत्ति बिमाको माग बढ्दै गएको छ । यसको प्रमुख कारण हो – जनतामा जोखिम व्यवस्थापनको बढ्दो चेतना ।

तर, यसको सकारात्मक प्रवृत्तिबीच नक्कली दाबी, क्षतिको अतिशयोक्तिपूर्ण मूल्यांकन र बिमा कर्मचारीहरूसँगको साठगाँठजन्य घटनाले यस क्षेत्रलाई विकृत बनाउँदै लगेको छ । यसले बिमा कम्पनीहरूको आर्थिक स्थायित्वमा नकारात्मक प्रभाव पार्ने खतरा देखिन्छ । दीर्घकालमा यसले निष्पक्ष बिमाग्राहीहरूलाई पनि असर गर्न सक्छ ।

बिमा फाइदा होइन, सुरक्षा हो । तर, पछिल्लो समय नेपाली बिमा क्षेत्रमा बढ्दै गएका विकृतिजन्य घटनाले बिमालाई फाइदाका रूपमा लिने गरेको पुष्टि हुँदै गएको छ । हालै सुनसरीको इटहरीमा भएको सेन्ट«ल प्लाजाको आगलागी पछि ढिला मूल्यांकन गरी बढी रकम दाबी गरिएको आरोप छ । यहाँ भएको रहस्यमय आगलागीको क्षतिको विवरण सार्वजनिक गर्न नै ‘सेन्ट्रर प्लाजा’ले झन्डै १ महिना लगाएको थियो । प्लाजाले १६ करोड रुपैयाँ बराबरको क्षति भएको भन्दै बिमा सिफारिसका लागि अस्वाभाविक दाबी गरेर वैशाख ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएको छ ।

उक्त निवेदनले प्रहरीलाई नै आश्चर्यचकित बनाएको छ । अस्वाभाविक बिमा सिफारिसको निवेदनले प्रहरी नै अन्योलमा पारेको छ । यद्यपि, सिफारिस दिइसकिएको छैन । सिफारिसका लागि परेको निवेदन शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी बताउँछ । हालसम्म विकसित घटनाक्रमले आगलागी नियोजित थियो भन्ने आशंकालाई बल पुर्‍याएको छ । प्रहरी अधिकारी भन्छन्, ‘पसल र भवनमा झट्ट हेर्दा नै यतिको दाबी गर्ने गरी क्षति भएको देखिँदैन । यहाँ बिमाका कर्मचारीसँग मिलेमतो त भएको छैन ? यो विषयलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको छ ।’

यो घटना त एक उदाहरण मात्रै हो । घर, पसल वा गोदाममा जानाजान आगजनी गरी बिमा कम्पनीबाट ठूलो रकम झिक्ने प्रवृत्ति पछिल्लो समय बढेको छ । यसमा केही बिमा एजेन्ट, सर्वेयर र ग्राहीबीच मिलेमतो भएको पनि शंका गरिन्छ । कतिपय बिमितले आफ्नो सम्पत्तिको वास्तविक मूल्यभन्दा धेरै बढी बिमा गराएर क्षति हुँदा अत्यधिक रकम दाबी गर्छन् । यसले बिमा कम्पनीहरूको आर्थिक बोझ बढाउँछ ।

यस्ता घटना क्रम बढ्दै जानुमा समस्याका हाँगा धेरै छन् । प्रथमतः बिमा क्षेत्रमा कडा निगरानीको अभाव छ । बिमा दाबी जाँच्ने प्रक्रियामा पारदर्शिता र जबाफदेहिता कम छ । दोस्रो, बिमा कर्मचारी र ग्राहीबीचको गलत साठगाँठलाई रोक्ने कानुनी प्रावधान कमजोर छ । अनि, तेस्रो, बिमा दाबी प्रक्रियामा प्राविधिक रूपमा पछि परेका कारण सही मूल्यांकन हुँदैन । यसले अवसरवादीहरूलाई फाइदा उठाउने मौका दिन्छ । इटहरीमा पनि यी कारणहरूले पक्कै छोएकै छ भन्न सक्ने पर्याप्त आधारहरु खडा भएका छन् ।

यस्ता समस्याको समयमा समाधान गरिएन भने विकृति बढिरहन्छ । त्यसैले यो क्षेत्रमा पनि  कडा नियमन र निगरानी आवश्यक छ । बिमा सम्बन्धी निकाय (बिमा समिति)ले दाबी जाँच्ने प्रक्रियामा पारदर्शिता ल्याउनुपर्छ । स्वतन्त्र सर्वेयर र मूल्यांकनकर्ता नियुक्त गर्ने प्रणाली बनाउनु आवश्यक छ । अहिले जमाना प्रविधिको हो । आगलागी वा क्षति हुँदा तुरुन्तै ड्रोन, एआई मूल्यांकनजस्ता प्रविधि प्रयोग गरी वास्तविक क्षतिको विवरण संकलन गर्न सकिन्छ । यो प्रयास विश्वका धेरै मुलुकमा भएका छन् । नेपालमा पनि चाँडै सुरु गर्न आवश्यक छ ।

अझै पनि बिमाको विषयमा नागरिकमा जनचेतनाको अभाव छ । बिमा धोखाधडीको दीर्घकालीन नकारात्मक असरबारे ग्राहीहरूलाई जागरूक गराउनुपर्छ । यसो भएमा विकृतिलाई एक हदसम्म रोक्न सकिन्छ । अझै पनि दोषीप्रति कडा कारबाही भएका उदाहरण कम छन् । बिमा धोखाधडीमा संलग्न पाइएका व्यक्ति र कर्मचारीप्रति कानुनी रूपमा कडा कारबाही हुनुपर्छ । यसो गरेमा नक्कली दाबी गर्ने क्रम घटाउन सकिन्छ ।

घर सम्पत्ति बिमा नेपालको बिमा क्षेत्रको महत्त्वपूर्ण आयाम हो । यसमा बढ्दो विकृतिले समग्र बिमा प्रणालीमा अविश्वास फैलाउँदै छ । यसलाई रोक्न सरकार, बिमा निकाय र जनताले समान भूमिका खेल्नुपर्छ । कडा नियमन, प्रविधिको प्रयोग र सामाजिक सचेतनाबाट मात्र यस समस्याको समाधान सम्भव छ । सम्बन्धित सबै क्षेत्रको नजर समयमा यहाँ परोस् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.