कोशी लगानी सम्मेलन आजदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार ०७:२६

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज (बिहीबार)देखि २ दिने ‘कोशी लगानी सम्मेलन’ सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने भनिएको सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

वीरेन्द्र सभागृहमा हुने सम्मेलनले लगानीको वातावरण बनाउँदै प्रदेशमा समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको सम्मेलनले उद्योगी व्यवसायीसमेतका निजी क्षेत्र र सरोकारवालालाई उत्साहित बनाएको छ ।

प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना तथा रणनीतिक अवस्थितिका कारण कोशी प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ । सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको वातावरण तयार पर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनले संकटमा पर्दै गएको औद्योगिक एवं व्यावसायिक वातावरणलाई थप सहज बनाउने भएकाले व्यवसायी उत्साहित छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सम्मेलनले समग्र निजी क्षेत्रमा उत्साह ल्याएको बताउँछन् । सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरोत्थान र समग्र नेपालको समृद्धिको आधार तयार पार्ने उनको भनाइ छ ।

‘अर्थतन्त्र शिथिल छ । लगानीको अवस्था बनिरहेको छैन । व्यवसायीहरू निराश बन्ने अवस्था छ । यही बेला हुन लागेको सम्मेलनले पक्कै पनि आशाको सञ्चार गर्नेछ’, अध्यक्ष राउन भन्छन्, ‘प्रशासनिक झञ्झट, ढिलाइ, बजारको पहुँच र जमिन उपलब्धताको समस्या समाधानका लागि स्थायी संवाद मञ्च स्थापना, साना उद्यमीलाई बजारीकरणमा सहयोग र युवाहरूको सीप विकास निजी क्षेत्रका प्रमुख प्राथमिकता हुन् । सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल हुने विश्वास गरिएको छ ।’

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडा लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गर्छन् । राज्यले हाल भइरहेका समस्या समाधानका लागि पहल गर्ने र व्यवसायीका कुरा सुन्ने भएकाले निजी क्षेत्र सम्मेलनबाट उत्साहित भएको उनको भनाइ छ ।

सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको छ । जसका लागि ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको छ । कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रका परियोजना ‘सोकेसिङ’ गरिने भएपछि निजी क्षेत्र उत्साहित बनेको हो ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयू) हुने जानकारी दिए । सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ ।

पहिलो दिन कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र ३ तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू तथा जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने जनाइएको छ । लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.