
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तयारी अभ्यासमा जुटेको छ ।
अष्ट्रेलियाका फुटबल प्रशिक्षक म्याट रसको राष्ट्रिय टोलीसँग यो तेस्रो अन्तर्राष्ट्रिय खेल हुने बताएका अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहका अनुसार टोलीले जुन १० मा लाओसविरुद्ध समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने छ ।
नेपाली टोली छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेको छ । यसअघि पहिलो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले अब लाओस, भियतनामसँग प्रतिस्पर्धा गर्ने छ । भियतनामसँग भने अक्टोबर ९ मा खेल्ने छ ।
छनोटअन्तर्गत समूह चरणको पहिलो खेल मलेसियासँग खेलिसकेको नेपालका लागि लाओसविरुद्धको खेल अहम् हुने प्रवक्ता साहले जानकारी दिए ।
एन्फाका अनुसार टोलीले आफ्नो तयारी शतप्रतिशत रुपमा गरिरहेको छन् । लाओसको खेलपूर्व अभ्यासका क्रममा बिहीबार (आज) टोली मनाङ पुग्ने उनले बताए ।
प्रवक्ता साहले भने, ‘केही दिन टोली मनाङमा अभ्यासमा जोडिने छ । लाओसको मौसम अनुकूल खेलाडीको तयारीमा जुटेका हौं । प्रशिक्षक रसले आफ्नो डेब्यु खेलमा सिंगापुरविरुद्ध जितको नतिजा निकालेका थिए र यस पटक पनि हामीले सोही अनुरूपको नतिजा अपेक्षा गरेका छौं ।’
उनका अनुसार एसियन छनोटअन्तर्गत मलेसियाविरुद्ध अपेक्षाकृत नतिजा नआए पनि ४५ वर्षपछि पहिलो पटक सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीले जित निकालेको थियो ।
सिंगापुरविरुद्ध नेपाली टोलीले गत चैत ८ गते सिंगापुरको मैदानमा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा जिलेस्पीजंग कार्कीको एक मात्र गोलले नेपाली टोली विजयी भएको थियो ।
अभ्यासका लागि केही दिन अघि प्रशिक्षक रसले अन्तिम ३० जना खेलाडीलाई प्रशिक्षणमा राखेका छन् । प्रवक्ता साहका अनुसार प्रशिक्षक रसले सोही प्रशिक्षणबाट टोलीलाई अघि बढाउने छन् ।
छनोट खेलपूर्व नेपाली टोलीले जुन ५ मा हङकङमा समेत मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने छ । फिफा विन्डोजअन्तर्गत हङकङविरुद्ध भने यो दोस्रो मैत्रीपूर्ण खेल हुने उनको भनाइ छ ।
२०४५ सालमा पहिलो पटक दुवैबीच खेल हुँदा नतिजा भने गोलरहित बराबरीमा सकिएको थियो ।



















