
काठमाडौं । दुबईमा २ वर्षदेखि कराँते प्रशिक्षण गराउँदै आएकी सोनी राईले तेस्रो डानको उपाधि पाएकी छन् ।
उनले दुबईमा सफलताका साथ जेकेए सोतोकान कराँतेको तेस्रो डान उपाधि प्राप्त गरेकी हुन् । दुबईको कराँते ३६५ क्लबमा आवद्ध भइ कराँते प्रशिक्षण गराउँदै आएकी राईलाई जापानबाट आएका कराँते सेन्से सिहान कोइचिरो ओकुमाले डान प्रमाणपत्र प्रदान गरे ।
राई प्रशिक्षणका साथै खेलाडीको भूमिमा पनि छन् । यसअघि नेपाल पुलिस क्लबमा आबद्ध रहेकी राईले ९ औँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, प्रथम मेयर कप २०२२ मा स्वर्ण पदक, प्रथम र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।
उनले यस बाहेक अन्य धेरै प्रतियोगितामा पदक जित्न सफल भएकी थिइन् ।
त्यसै गरी, २०२४ मा दुबईको इकोनोमी र पर्यटन विभाग तथा दुबईका युवराज शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमले प्रवर्धन गरेको दुबई फिटनेस च्यालेन्जमा प्रशिक्षकको सफलता पूर्वक भूमिका निर्वाह गरेकी थिइन् । दुबईमा कराँते प्रशिक्षण गराउने नेपाली पहिलो प्रशिक्षक राई भइन् ।



















