महिला विश्वकपमा ४८ टोली सहभागी हुने

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २७, शनिबार १५:५३

काठमाडौं । फिफा महिला विश्वकपमा सहभागी हुने राष्ट्रहरूको संख्या बढ्ने भएको छ ।

विश्व फुटबल नियामक संस्था फिफाले सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने जनाएको छ ।

फिफाले सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदर स्वरूप यो निर्णय लिइएको हो ।

४८ टोली सहभागिताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल संख्या ६४ बाट बढाएर १ सढ ४ पुर्‍याउने छ र प्रतियोगिता १ हप्ता थप लम्बिने छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।’

महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो । त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए ।

सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलो पटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ ।

यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.