
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले हङकङसँग खेल्दैछ । छनोटको समूह सी मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान ११:१५ बजे सुरु हुनेछ ।
डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो ।नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।
सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण पूरा हुन पाएन । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन ।
हङकङको दुवै खेल वर्षाले प्रभावित हुँदा घाटा लागेको छ । अब आज हुने खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित हुनेछ । छनोटमा ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछन् ।
सुपर थ्री मा तीन टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् ।



















