अदालतले एन्फा अध्यक्ष नेम्वाङसँग माग्यो लिखित जवाफ

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १८:२४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङसँग उच्च अदालत पाटनले लिखित जवाफ मागेको छ ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई वैशाख २६ गते धुलिखेलमा भएको साधारण सभामा सहभागी हुन रोक लगाएपछि थापाले अदालतमा अवहेलनाको मुद्दा दर्ता गराएका छन् ।

उनको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन एन्फालाई आदेश दिएको छ । साधारण सभामा सहभागी हुन गएका थापालाई गेटमै प्रवेश रोक लगाइएको थियो ।

यसअघि उच्च अदालतले उनलाई साधारण सभामा भाग लिन पाउने आदेश गरे पनि त्यसलाई एन्फाले नमानेर प्रवेशमा रोक लगाएपछि थापाले अवहेलनाको मुद्दा हालेका हुन् ।

आफूलाई रोक लगाउने कार्यले सम्मानित उच्च अदालतबाट वैशाख २४ मा भएको अन्तरिम आदेशको अवज्ञा हुन गएको तथा अदालतको न्याय सम्पादन कार्यमा अवरोध हुनुका साथै सम्मानित अदालतको अवहेलना भएको थापाको निवेदनमा उल्लेख छ ।

उनले नेपालको संविधानको धारा (३)(२) र न्याय प्रशासन ऐन २०७३ को दफा (७) २० र (४) बमोजिम कारबाहीको माग गरेका छन् ।

बिहीबार (आज) उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र डिल्लीरत्न श्रेष्ठले मुद्दामा सुनवाइ गर्दै ७ दिनभित्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको लिखित जवाफ मागेका हुन् ।

आफैं आएर जवाफ दिन वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.