नेपाल महिला टी २ विश्वकप छनोटको तेस्रो चरणमा

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १९:२८

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तेस्रो चरणमा नेपाल पुगेको छ ।

हङकङ र बहराइनबीचको शुक्रबार (आज) हुने भनिएको अन्तिम लिग खेल वर्षका कारण हुन नसकेपछि नेपाल सुपर ३ मा प्रवेश गरेको हो ।

बिहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर ३ मा पुग्ने सम्भावना जीवित भएको थियो । नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक बनाएको थियो ।

हङकङ र बहराइनको खेल वर्षाले रद्द हुँदा ४ खेलमा हङकङको पनि ५ अंक पुग्यो । तर नेपालले २ खेल जितेको र हङकङले मात्र १ खेल जितेका कारण नेपाल अंक तालिकाको शीर्ष स्थानमा रह्यो । बहराइनको ४ खेलमा २ अंक छ ।

हङकङसँग समान ५ अंक भए पनि आईसीसीको नियमअनुसार नेपाल बढी खेल जितेको आधारमा अघिल्लो चरणमा पुगेको हो ।

एसियाली छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ बाट थाइल्यान्ड र समूह ‘बी’ बाट युएई सुपर ३ मा पुगेका छन् । नेपाल भने समूह ‘सी’ बाट तेस्रो चरणका लागि छनोट भएको हो ।

सुपर ३ मा सबैले एक अर्कासँग १ पटक खेल्ने छन् भने पहिलो चरणको अंक पनि जोडिने छ । शीर्ष २ टोलीले ‘ग्लोबल’ छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

सुपर ३ मा नेपालले आफ्नो पहिलो खेल आगामी सोमबार युएईसँग खेल्ने छ । अर्को खेल मंगलबार थाइल्यान्डसँग हुनेछ ।

‘ग्लोबल’ छनोटमा सहभागी हुने १० टोलीमध्ये अहिलेसम्म बंगलादेश, अमेरिका र स्कटल्यान्डले मात्रै स्थान पक्का गरेका छन् ।  ‘ग्लोबल’ छनोटबाट ४ टोलीले विश्वकप २०२६ खेल्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.