
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन केसीले माग गरे ।
मुलुकमा सुशासन हुन नसकिरहेको गुनासो चुलिएका बेला विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा अघि बढाउनुपर्नेमा नेता केसीले जोड दिए ।
उनले मन्त्रिपरिषद् पनि संविधानअन्तर्गत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए ।

























