
विराटनगर । पुरानो जीर्ण भवन । कुनै पनि बेला खसिहाल्ला जस्तो छत । अरु संरचनामा पनि पुरानो भएर कमजोर बनेको अवस्था । त्यो भवनमा बस्नु भनेको आफैंलाई असुरक्षित पार्नु जस्तै हो । तर बाध्यता, प्रहरीहरु यस्तै जीर्ण भवनमा बसिरहेका छन् ।

यस्तो अवस्था हो मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालय रंगेली मातहत रहेको इलाका प्रहरी कार्यालय (ख) दोहमनाको । बजारको मुख्य भागमा रहेको कार्यालयले ३४ वर्षदेखि त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन काम गरिरहेको छ । तर, त्यस काममा लागिरहने प्रहरी स्वयं भने असुरक्षित छन् ।
परेका बेला जनताको सुरक्षा दिने, आपराधिक घटना हुन नदिने, भए कारबाही र अनुसन्धानको काम गर्ने प्रहरीको यो कार्यालय आफैं असुरक्षित बनेको छ ।

‘सुतिरहेका बेला कतिखेर खसेर छतले थिच्ला भनेर त्राहीमाम छ’ एक प्रहरी भन्छन्, ‘असाध्यै कष्टपूर्ण बसाइ छ । के गर्नु, कतै केही बोल्यो भने आफैं नराम्रो भइन्छ ।’
पुरानो एक तले पक्की भवनको छत वर्षौ अघि चर्किकोमा अझै उस्तै छ । अझ चर्कने क्रम बढेको छ । अलेली पानी पर्दा पनि चुहिएर बिजोग अवस्था हुने गरेको प्रहरी बताउँछन् ।

उक्त भवन बनेको तीन दशकभन्दा बढी समयमा धेरै भौतिक विकास भए । पालिकाका, राजनीतिक दलका अनि नेतासम्बद्ध संस्थाहरुका संरचना भव्य भए । तर, अहोरात्र खटिनुपर्ने प्रहरीका लागि भने व्यवस्थित भवन बन्न सकेको छैन ।
त्यही भवन पनि सरकार वा उसका कुनै निकायले बनाइदिएका होइनन् । स्थानीय जयप्रकाश पोख्रेलले १ कठ्ठा ६ घुर जग्गा दान दिए । अनि स्थानीय समाजसेवी र दाताहरुले प्रहरी चौकी बनाइदिए ।
स्थानीयको योगदान र प्रयासमा बनेको भवनको यतिन्जेल बेवास्ता भइरह्यो । अब भने बल्ल ३४ वर्षपछि आएर कोशी प्रदेश सरकारले ५१ लाख रुपैयाँमा प्रहरीको भवन निर्माण योजना सुरु गर्ने भएको छ ।
२०४१ पुस ९ गते स्थानीय गोपालमान राजभण्डारीद्वारा शिलान्यास गरिएको प्रहरी चौकी २०४८ चैत २० गते तयार भएर नेपाल प्रहरीका तत्कालीन प्रमुख ध्रुवबहादुर प्रधानले उद्घाटन गरेका थिए ।

त्यसपछि सञ्चालन हुँदै आएको भवन समयक्रममा जीर्ण हुँदै आयो । मर्मत सम्भारमा कसैले चासो दिएन । अहिले त बस्नै जोखिमपूर्ण हुने गरी जीर्ण बनेको छ ।
सीमावर्ती क्षेत्र नजिक पर्ने दोहमना, बनकोल, फर्सिडागी, बेलचोक ,दर्वेशा, बटरवारी, बनकोल जस्ता स्थानमा सुरक्षा व्यवस्था कायम राख्न प्रहरी आवश्यक हो भनेर स्थानीयले आफूले सकेको सहयोग गर्दै आएका छन् ।
उक्त कार्यालयमा विगतमा २३ जनाको दरवन्दी थियो । अहिले त यो पनि घटेको छ । असईको नेतृत्वमा ७ जना प्रहरी परिचालित छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले प्रहरी कार्यालयको भवन अति नै जीर्ण अवस्थामा रहेको बताए । अरु पनि केही भवन जीर्ण अवस्थामा रहेको रहेको उनको भनाइ छ ।
तालुक कार्यालयलाई प्रहरी भवनको अवस्थाका विषयमा जानकारी गराएर पुनःनिर्माण र मर्मत सम्भारका लागि अनुरोध गरिएको जोशीले बताए । कतिपय कार्यालयको भवन पुनःनिर्माणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी उनले दिए ।


























