
विराटनगर । ‘एसियन हाइवे’ निर्माणको जिम्मा पाएको सीआरएफजी टुन्डी कन्ट्रक्सनले अवैध रुपमा मोरङको पथरीशनिश्चरेको डाँस खोला उत्खन्न गरिरहेको छ ।
राज्यकै संरक्षणमा लामो समयदेखि खोला उत्खनन भइरहेको हो । उक्त कम्पनीले झापाको काँकडभिटादेखि सुनसरीको लौकहीसम्म १ सय २० किलोमिटर स्तरोन्नतिको जिम्मा पाएको छ । सडकको काममा संलग्न सोही कम्पनीसँग सम्बन्धित बेदालय कन्स्ट्रक्सन प्रा. लिले मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित डाँस खोलामा अवैध तरिकाले खोला उत्खन्न गरेको पाइएको हो ।
आर्थिक वर्ष २०८१–०८२ मा डाँस खोलामा उत्खननको ठेक्का लागेको छैन । ठेक्कामा दिएकै अवस्थामा पनि मापदण्डअनुसार पुलको तल–माथि ५–५ सय मिटरको दूरीमा ढुंगा बालुवालगायतका नदीजन्य पदार्थ निकाल्न पाइँदैन ।

उक्त कम्पनीले भने राज्यकै संरक्षणमा उत्खनन गर्दै प्राकृतिक स्रोतमाथि तीव्र दोहन गरिरहेको छ । यसबारे आफूहरुले पटक–पटक जानकारी दिएको स्थानीयले बताएका छन् । तर, जिल्ला प्रशासन कार्यालय मोरङ, पथरीशनिश्चरे नगरपालिका र इलाका प्रहरी कार्यालय पथरीले कुनै चासो नदेखएको उनीहरुको गुनासो छ ।
सरकारी निकायले चासो नदिएपछि स्थानीय आफैंले रोक लगाएका थिए । पुल भएको स्थानको खोला ५ सय मिटर आसपास उत्खनन् गर्न नपाइने भए पनि सडक विभागअन्तर्गत काँकडभिट्टा–लौकही सडक योजनाका प्रमुख जगत प्रजापतिले उक्त कम्पनीलाई उत्खनन् गर्न सजिलो बनाइदिएको स्रोतले जानकारी दिएको छ ।
खोलाको दुईतिर तारजाली लगाउने निहुँमा सीआरएफजी टुन्डी कन्ट्रक्सनले खोलाजन्य पदार्थ उत्खनन् गर्दै आएको स्थानीय १ अगुवाले बताए । ‘एसियन हाइवे’ निर्माणमा प्रयोग भएका जेसीबी, टिफर र मजदुर प्रयोग गरी मिक्स गिटी र बालुवा लैजाने गरिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको डाँस खोलाबाट करिब ५ सय मिटर दक्षिण वृक्षरोपण गरेको स्थानमा उत्खनन् हुँदा पनि सम्बन्धित निकाय बेखबरजस्तै छन् । तीव्र दोहनमा आँखा चिम्लिने काम भएको छ । वैशाख १५ र १६ गते ठूलो मात्रामा खोला उत्खनन् भएको स्थानीय बताउँछन् ।

काँकडभिट्टा–लौकही सडक योजना प्रमुख प्रजापतिले वैशाख २३ गते ‘डाँस खोलामा नदी नियन्त्रण कार्य गर्ने सम्बन्धमा’ भन्दै पत्राचार गरेका छन् । त्यही पत्रको आधारमा कम्पनीले खोलाको बीच भागमा उत्खनन् गरी नदीजन्य पदार्थ निकालिरहेको छ ।
योजना कार्यालयले पथरी शनिश्चरे नगरपालिकालाई पत्राचार गरेको हो । उक्त कार्यालयको पत्रमा यस्तो लेखिएको छ– ‘उपरोक्त विषयमा यस कार्यालयद्वारा सञ्चालित काँकडभिट्टा–लौकही सडक योजनाअन्तर्गत डाँस खोला (चेनेज ६४ंं३२ देखि ६५ंं०३०) मा सडक विभागबाट स्वीकृत भएको डिजाइन (नक्साको प्रतिलिपि यसै पत्रसाथ संलग्न छ) अनुसार पुलबाट दक्षिणमा खोलाको दुवैतर्फ २ सय मिटर लामो र उत्तर पश्चिमतर्फ ५० मिटर लामो ग्याविन लगाई नदी नियन्त्रण कार्य गर्नु पर्ने र सो आवश्यक समन्वयको लागि अनुरोध छ । साथै पथरीशनिश्चरे नगरपालिका १० नम्बर वडा कार्यालयको प. सं. २०८१–०८२ र च. नं. १०४७ को मिति २०८२–०१–२२ को पत्रमार्फत उत्तर पश्चिमतर्फ २ सय ५० मिटर नदी नियन्त्रण कार्य गर्न अनुरोध भइ आएकोमा सो सम्बन्धमा आवश्यक अध्ययन भइरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

योजना कार्यालयले काममा अवरोध नहोस् भनेर जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिका, १० नम्बर वडा कार्यालयलाई बोधार्थ दिएको देखिन्छ ।
पत्रमा कतै पनि उत्खनन् गरी खोलाजन्य पदार्थ अन्यत्र लैजान पाउने उल्लेख भएको छैन । खोलाको दुबैतिर ‘ग्याविन लगाई नदी नियन्त्रण कार्य गर्नु पर्ने’ भन्ने लेखिाएको छ। तर, कन्ट्रक्सन कम्पनीले खोलाको बीच भागबाट उत्खनन् गरेर नदीजन्य पदार्थ अन्यत्र लगिरहेको छ ।
नक्सामा देखाएको ठाउँभन्दा बाहिर उत्खन्न गर्न नपाइने योजना प्रमुख प्रजापति बताउँछन् । तर, सम्बन्धित निकायले यस्तो भइरहेको थाहा पाए पनि नपाएको झैँ गरिरहेका छन् । ‘यो काममा पक्कै पनि सबैको मिलेमतो हुनुपर्छ’ स्थानीय १ अगुवा भन्छन् । ‘एसियन हाइवे’ निर्माणमा यातायातको जिम्मा पाएका हरि पराजुलीले भने आफ्ना गाडी उक्त कार्यमा प्रयोग नभएको दाबी गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खोला उत्खननका बारेमा आयोजनाले नै पत्र पठाएको बताए । उनले पथरीशनिश्चरे नगरपालिका र इलाका प्रहरी कार्यालय पथरीलाई यसबारे बुझ्न निर्देशन दिइएको बताए ।
पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले खोला ठेक्का नलागेको समयमा त्यसरी उत्खन्न गर्न नपाइने बताए छ । यसको संरक्षण गर्ने जिम्मा इलाका प्रहरी कार्यालय पथरीको रहेको उनको दाबी छ । सब–डिभिजन वन कार्यालय पथरीशनिश्चरेका प्रमुख त्रिभुवन साह उत्खननका बारेमा केही जानकारी नभएको बताउँछन् ।


























