
विराटनगर । सुरुवाती दिनमा इन्टरनेटलाई केवल मनोरञ्जन र सञ्चारको माध्यमको रूपमा लिइन्थ्यो। समयसँगै त्यो धारणा परिवर्तन हुँदै गएको छ। इन्टरनेट अहिले उद्यमशीलता, स्वरोजगार र सशक्तीकरणको सशक्त माध्यम बन्दै गएको छ ।
विराटनगरकी गृहिणी इसा जिमीका लागि कोभिड–१९ को लकडाउन सुरु हुनु घरमै बस्ने बाध्यता मात्र थिएन, आर्थिक र मानसिक रूपमा पनि चुनौतीपूर्ण समय थियो ।
घरको जिम्मेवारीसँगै आर्थिक चिन्ताले मन भारी बनिरहेको बेला उनले युट्युबमा सिलाम साक्मा र अचार बनाउने तरिका सिकाउने भिडियो देखिन् । त्यसैबाट प्रेरित भएर उनले घरमै यी सामग्री बनाउने अभ्यास सुरु गरिन् ।
लकडाउन खुकुलो हुँदै गएपछि उनले आवश्यक सामग्री किन्दै घरमै उत्पादन सुरु गरिन् । आफैंले बनाएको अचार र सिलाम साक्माको तस्बिर मोबाइलमा खिचेर फेसबुक र मेसेन्जर ग्ररुपहरूमा पोस्ट गर्न थालिन् ।
‘मैले बनाएका सामग्रीहरू अनलाइन ग्रुपहरूमा पनि प्रचार गरेँ,’ उनले भनिन् ‘त्यही हेरेर अर्डर गर्नेहरू धेरै हुनुहुन्थ्यो ।’ उनले बनाएका सिलाम साक्मा, अचार अहिले हङकङ, दुवई, कतार, विराटनगर, दमक र संखुवासभासम्म पुग्छ ।
इन्टरनेटको सदुपयोगले आत्मनिर्भर बन्न सकिने मात्र होइन, व्यवसायको बलियो माध्यम बन्ने अनुभव उनले सँगालिसकेकी छन् ।
झापा गौरादहकी प्रविना राई पनि सामाजिक सञ्जाल, विशेषतः टिकटकलाई व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिरहेकी छिन् । ‘सुनिताको अर्ग्यानिक मासुको अचार’ नामक व्यवसाय उनले टिकटकमार्फत प्रचार गर्छिन् ।
उनका अधिकांश भिडियोहरू लाखौँ दर्शकले हेर्ने गरेका छन् । त्यसै माध्यमबाट अचारको अर्डर देशभरबाट आउने गरेको उनी बताउँछिन् । उनका अनुसार भान्सामा बन्ने अचारको परिकारलाई व्यवसायिक यात्रामा जोडेकी हुन् ।
यो व्यवसायको सुरुवात उनले आफ्नो घरमा १२ वर्षदेखि बस्दै आएकी सुनितालाई आत्मनिर्भर बनाउनका लागि गरेकी हुन् । ‘सुनिताले पढ्न पाइनन्, उनी मेरो घरमै बस्छिन्, उनको उज्ज्वल भविष्यका लागि मैले यो व्यवसाय सुरु गरिदिएकी हुँ’ प्रविनाले भनिन् । सुरुमा काँचो तोरीको अचार बेच्दै आएकी उनी मासुको अचारको मागपछि नयाँ स्वाद थपिएको बताउँछिन् ।’

उनकी २८ वर्षीया छोरी प्रजिना राईले पनि अनलाइन व्यवसायमार्फत् महिलाका लागि कुर्ता, टप्स लगायतका पहिरनको बिक्री गर्दै आएकी छन् । उनले आफैं कपडा लगाएर टिकटकमा प्रचार गर्छिन् । ग्राहकहरू प्रत्यक्ष सम्पर्क गरेर अर्डर दिने गर्छन् ।
‘घरमै बसेर व्यापार गर्न सकिन्छ, पसलमा ग्राहक कुर्नु पर्दैन। अनलाइन व्यवसाय राम्रो बनाउन सकियो भने आम्दानी पनि राम्रो हुन्छ,’ प्रविनाले भनिन्, ‘सामाजिक सञ्जालको सही प्रयोगले अवसर दिन्छ, तर दुरुपयोगले हानि पनि र्पुयाउँछ ।’
यस्तै, विराटनगर–१५ की प्रमिला आलेले हस्तकलाबाट बनेका सामग्री बेच्दै आएकी छन् । एक वर्षअघिबाट सुरु गरेको व्यवसायमा १० जना महिला संलग्न भइसकेका छन् । उनले धागोबाट बुनेको झोला, रुमाललगायत सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेर बिक्री गर्ने गर्छिन् ।
संखुवासभाको खाँदबारीकी सरिता उदासले पनि सामाजिक सञ्जालमार्फत् व्यापार गर्ने अनुभव सँगालेकी छन् । उनी घरमै तयार पारिएको सुत्केरी मसला र अचार फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गर्छिन्, जहाँबाट ग्राहकहरूले अर्डर गर्ने गरेका छन् ।
इसा, सरिता जस्ता महिलाहरू प्रतिनिधिमूलक पात्र हुन् । इन्टरनेट र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले अहिले धेरै महिलाहरूलाई स्वरोजगारको बाटो देखाइरहेको छ । विशेषगरी टिकटक, फेसबुक रिल्स र इन्स्टाग्रामजस्ता प्लेटफर्महरू व्यवसाय प्रवर्द्धनका लागि उत्कृष्ट माध्यमका रूपमा स्थापित हुँदै गएका छन् ।

























