
काठमाडौं । एरिका गुरुङले विश्वकै प्रतिष्ठित कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेकी छन् । छनोट हुँदै एरिकाले ऐतिहासिक पदक हात पारेकी हुन् ।
विश्वभरबाट ३२ जना मात्र खेलाडीले खेल्न पाउने यो प्रतियोगितमा एरिका छनोट भएर मोरक्को पुगेकी थिइन् । आइतबार राति सम्पन्न महिला ६८ केजी माथि तौल समूहअन्तर्गत कास्य पदकको खेलमा उनले फ्रान्सकी पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाउन सफल भइन् ।
विश्व वरीयताको ५० औं स्थानमा रहेकी एरिकाले २० औं वरीयतामा रहेकी क्लेमेन्सलाई पराजित गरेसँगै यो उपलब्धि हासिल गरेकी हुन् । विश्व कराते महासंघले एरिकाको लगातार उत्कृष्ट प्रदर्शनपछि उनलाई मोरक्कोको रबातमा भएको यो प्रतियोगिताका लागि छनोट गरेको थियो ।
एरिकाले सुरुवाती चरणको रुपमा रहेको पुल ६ को खेलमा टर्कीकी जेना गाबालासँग २-२ र इटालीकी क्लिओ फेराकुतीलाई ३-१ ले हराउँदा साइप्रसकी जिआमुकी ठेओदोसियासँग १-१ को बराबरी खेलेकी थिइन् ।
त्यसपछि इजिप्टकी हैदी महघुबलाई ८-२ ले हराएकी उनी स्पेनकी मारिया टोरेस गार्सियासँग भने ५-५ को बराबरीमा पछि परेकी थिइन् । त्यसपछि तेस्रो स्थानको खेलमा उनले क्लेमेन्सलाई हराइन् । एरिकालाई सेमिफाइनलमा हराएकी मारिया टोरेसले नै फाइनलमा इंग्ल्यान्डकी रोसेल वाल्टर्सलाई ४-२ ले हराएर स्वर्ण जितिन् ।



















