
यो वर्ष औसतभन्दा दुई साताअघि नै नेपालमा मनसुन भित्रिएको छ । कोशी प्रदेशबाट भित्रिएलगत्तै पूर्वका जिल्लामा बाढीपहिरोले निकै क्षति पुर्याएको छ । सुरुआती दिनमै यो वर्ष कस्तो अवस्था होला भन्ने संकेत मिलिसकेको छ ।
जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण पनि गरेको छ । यस्तो अवस्थामा पूर्वसावधानी अत्यावश्यक हो । यसो भए पनि विगतको अनुभवलाई हेर्दा सरकार र उसका निकायहरुले बेलैमा सावधानी अपनाउने गरेको पाइँदैन ।
गत वर्षको भीषण बाढीपहिरोले क्षत विक्षत भएको वीपी राजमार्ग बेलैमा नबनाउँदा यसपालि त्योभन्दा बढी क्षतिग्रस्त हुने अवस्था छ । भीरबाट ढुंगा झर्ला कि पहिरोले सडकै खस्ला भन्ने त्राहीमामका बीच यात्रा गर्नुपर्ने जोखिम छ ।
मनसुनको सुरुवाती दिनमै धनकुटा, झापा, संखुवासभा, इलाम, मोरङ, उदयपुर, सुनसरीलगायत जिल्लामा निकै क्षति भइसकेको छ । कतै सडक नै खोलाले बगाएको छ । कतै डाइभर्सनको नाम निशान छैन । नदी–खोलाको बाढी पसेर गाउँ बस्ती डुबानमा परेका छन् । सयौं विस्थापित भएका छन् ।
हरेक वर्ष वर्षा सुरु भएपछि यी खालका घटना हुन्छन् नै । पूर्ण रुपले रोक्न सकिंदैन । तर सावधानी अपनाउन सकिन्छ । कमभन्दा कम क्षति होस् भनेर सरकारले आफ्नो संयन्त्र परिचालन गरी इमान्दार प्रयास भने गर्नुपर्छ । अहिलेसम्म यही कुरा विश्वसनीय रुपमा देख्न सकिएको छैन ।
मनसुन पूर्ण रुपमा सक्रिय हुने भएकाले खासगरी असारको दोस्रो हप्तादेखि भदौ पहिलो हप्तासम्म नेपालमा ठूला बाढी, पहिरो तथा डुबानका घटना दोहोरिने गर्छन् । तर जलवायु परिवर्तनको प्रभावले यो अवस्था अघि सर्ने वा पछिसम्म हुने पनि देखिन थालेको छ ।
यो अवधिमा जनधनमा व्यापक क्षति पुग्ने गरेको छ । जोखिम छ भनेर जल तथा मौसमविज्ञान विभागले पहिले नै सम्भावित अवस्था तोकेरै सतर्कता अपनाउन भनिरहेको हुन्छ । सरकारलाई त्यसै अनुसारको जानकारी पनि दिइरहेको हुन्छ । तैपनि अपेक्षित रुपमा पूर्वतयारी भने देखिएको छैन । यसको पछिल्लो उदाहरण नै वीपी राजमार्ग बनेको छ ।
पूर्वतयारीको त के कुरा, सरकारका जिम्मेवार केही मन्त्रीले गत वर्षको घटनापछि दिएको अभिव्यक्ति नै उनीहरु कति गैरजिम्मेवार छन् भन्ने पुष्टि गर्न पर्याप्त छ । ‘कुन समयमा कुन ठाउँमा पहिरो खस्छ भन्ने सरकारलाई थाहा हुँदैन’ यसो भनेका थिए मन्त्रीले । कति गैरजिम्मेवार अभिव्यक्ति । यसको चौतर्फी विरोध र आलोचना पनि भएको थियो । तर सुझाव वा सुधारका लागि झक्झक्याएको ठान्नु त कता हो कता उल्टै गाली बर्साउने बानी उनीहरुको छ ।
मनसुनका बेला पहाडमा पहिरो जाने र चुरेक्षेत्र एवं तराईका सबैजसो नदीको प्रवाहले सतर्कता तह पार गर्ने भएकाले पूर्वतयारी र होसियारी अपनाउन ढिलो गर्नुहुँदैन ।
वर्षा लाग्नु अघि नै जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काममा पनि ध्यान दिनुपर्छ । बर्सेनि हुने डुबान र कटानको समस्या समाधानमा सरकारले भूक्षय र नदी नियन्त्रणजस्ता काम बेलैमा गर्नुपर्छ ।
क्षतिग्रस्त सडकहरुको बेलैमा मर्मत र पुनःनिर्माण गर्नुपर्छ । वर्षा सकिएपछि दसैँ, तिहार जस्ता मुख्य पर्व आउँछन् । त्यस बेला देशभर नागरिकहरुको आवागमन बाक्लै हुन्छ । त्यसअघि नै यस्ता काम गर्न सरकार चुुक्नु हुँदैन ।
त्यसैले साँच्चै नै गम्भीर भएर विपद् नियन्त्रण, उद्धार र राहत जस्ता कार्यका लागि पूर्वतयारी गर्नुपर्छ । कमभन्दा कम क्षति हुने अवस्थाका लागि पहल गर्नै पर्छ । प्राकृतिक विपतलाई हेलचेक्र्याइँ नठान । बेलैमा सतर्कता नअपनाउँदा बाँकी रहने काम भनेको पछि पछुताउनु मात्रै हो भन्ने मनन गर्नुपर्छ ।



















