
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीलाई सोमबार (आज) बिदाइ गरेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच एन्फाले लाओसविरुद्धको एएफसी च्याम्पियनसिप छनोट र हङकङविरुद्ध को मैत्रीपूर्ण खेलका लागि जान लागेको नेपाली टोलीको बिदाइ गरेको हो ।
एन्फाले टोलीमा रहेका २३ जना खेलाडी, प्रशिक्षक, टोली म्यानेजरलाई बिदाइ गरेको छ । खेलाडीहरूलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टोलीलाई जितको शुभकामना दिए ।
उनले राष्ट्रले खेलाडीको वृत्ति विकासदेखि आर्थिक पाटोमा समेत सक्षम बनाउँदै लगेको बताए ।
सो अवसरमा एन्फाका महासचिव किरण राईले फुटबलप्रतिको गलत भाष्य र नकारात्मक कुरालाई चिर्न टोलीले मैदानमा शतप्रतिशत दिने विश्वास लिए ।
खेलाडीहरूलाई शुभकामना दिँदै महासचिव राईले ३ करोड जनताबाट छानिएर राष्ट्रिय टोलीमा समावेश भएका खेलाडीहरूले दुवै राष्ट्रविरुद्धको खेलमा जित हात पार्ने अपेक्षा गरेको बताए ।
विदेशी प्रशिक्षकको साथमा खेलाडीहरूमा समेत ऊर्जा थपिएको बताउँदै उनले फुटबलले सबै नेपालीको मन जितिरहेको उल्लेख गरे ।
किरण चेम्जोङ नेतृत्वमा रहेको टोलीले हङकङविरुद्ध जुन ५ मा मैत्रीपूर्ण खेल खेल्ने छ । कप्तान चेम्जोङले करिब १ महिनाबाट राखिएको बन्द प्रशिक्षणले ऊर्जा थपेको बताए । उनले हङकङ र लाओसविरुद्धको खेलमा जितका लागि खेल्ने बताए ।
त्यसपछि जुन १० मा एएफसी च्याम्पियनसिप छनोटअन्तर्गत लाओससँग स्पर्धा गर्नेछ ।
टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका टम रस, सहायक प्रशिक्षकमा सल्यान खड्गी, गोलकिपर प्रशिक्षकमा विनोद डंगोल, टोली म्यानेजरमा टंक राई, सहायक म्यानेजरमा केशव कार्की र अफिसियलमा दीपेन्द्र धिमाल रहेका छन् ।



















