करण केसी नायक बन्दा स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार ०६:२२

विराटनगर । करण केसीले शानदार ब्याटिङ गर्दा नेपालले स्कटल्याण्डमाथि कीर्तिमानी जित निकालेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा शानदार ब्याटिङ गर्दै  करण केसीले ४१ बलमा अविजित ६५ रन बनाए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा नेपालले सबैभन्दा उच्च रनको लक्ष्य पूरा गर्दै खेल जित्ने कीर्तिमान बनाएको हो । यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको थियो ।

ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए । ज्याक जार्भिस र माइकल लिस्कले २–२ तथा जास्पर डेभिडसन र मार्क वाटले १–१ विकेट लिए ।

त्यसअघि डुन्डीमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो ।

स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २(२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट लिए ।

जितपछि नेपालको लिग २ मा १३ खेलमा ८ अंक जोडेको छ । नेपाल अंकतालिकामा आठौंबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.