
काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन प्रक्रिया अघि बढाउन न्यायपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज (बुधबार) आकस्मिक बैठक डाक्न निर्देशन दिएका हुन् ।
केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकमा यसबारेमा निकै चर्को र खरो रुपमा कुरा उठेको थियो । चौतर्फी रुपमा प्रश्न उठ्न थालेपछि सदस्यहरुसँगको परामर्शमा प्रधानन्यायाधीशले बैठकको मिति तय गरेका हुन् ।
न्यायपरिषद्मा उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित उजुरी परेको हो । न्यायपरिषद्ले मुद्दाको मिसिलसमेत मगाइसकेको छ । फैसलाको पूर्णपाठ तयार नभएकाले उच्च अदालतको वीरगञ्ज इजलासपबाट रायकिताबको प्रतिलिपि मगाइएको जनाइएको छ ।

























