
काठमाडौं । नेपालले आज नेदरल्याण्ड्ससँग आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक एक दिवसीय शृंख्लामा खेल्ने छ ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । स्कटल्यान्ड डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल दिउँसो ३ः४५ बजे सुरु हुँदैछ ।
सोमबार भएको पहिलो खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी सुरुआत गरेको नेपालले लगातार दोस्रो जितको लक्ष्यमा छ ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म ५ एक दिवसीय खेल भएका छन्, जसमा नेदरल्याण्ड्सले ३ र नेपालले २ खेल जितेका छन् ।
विश्वकप लिग २ मा नेदरल्याण्ड्स २० खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ, भने १३ खेल खेलेको नेपाल ८ अंकसहित ७ औँ स्थानमा छ । ८ टोली सहभागी यो लिग सन् २०२७ को विश्वकप छनोटको आधार हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्त्यमा शीर्ष ४ टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान पाउने छन्, जबकि पुछारका ४ टोलीले छनोट प्लेअफ खेल्नु पर्नेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन् ।



















