राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

Share this
638shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार २०:०८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु १४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो ।

प्रतियोगितामा ७ प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

जिल्ला हुँदै प्रदेश छनोट चरण पार गरेका ४ सय ७६ जना खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा एथलेटिक्स, टेबल टेनिस, छात्र / छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र / छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्समा छात्र / छात्रामा समान ६–६ तथा टेबल टेनिस र ब्याडमिन्टनमा छात्र / छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ । प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुने लागेको हो ।

एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ ।

सदस्यसचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिए पनि व्यवहारमा त्यत्ति लागु नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए ।

उनले प्रतियोगितालाई साथ दिने नेपालय, एक्सपर्ट, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ, सम्बन्धित खेलका राष्ट्रिय संघलगायत सम्पूर्ण प्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

एक्सपर्टका खेम संग्रौलाले खेलकुद मानिसलाई अनुशासित र स्वास्थ्य बनाउने महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै एक्सपर्ट विगत लामा समयदेखि खेलकुदसँग जोडिएको बताए ।

नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत जुनियर प्रतियोगिताका लागि राखेपसँग सहकार्य गरेको बताए ।

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसँग सहकार्य गरी जुनियर प्रतियोगिताको विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.