
विराटनगर । विराटनगरमा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आयोजना गरेको छनोट प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले पूर्वाधार विकासले मात्रै राष्ट्रको विकास नहुने बताए ।
उनले पूर्वाधारको विकासका लागि जसरी लगानी हुन्छ, त्यसरी नै शिक्षा, खेलकुद लगायतको क्षेत्रमा समेत पर्याप्त लगानी गरे नतिजा राम्रो हासिल गर्न सकिन्छ ।
कोशी प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रका लागि फराकिलो मन बनाएर बजेट विनियोजन गर्न उनले भने ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेल क्षेत्र र खेलाडीलाई प्राथमिकतामा राखेर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले छोटो समयको सूचनाको आधारमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा सरोकारवाला र खेलाडीहरूमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीको बोर्डले उचित सम्मान गर्ने बताए ।
उनले खेलाडीले सम्मान पूर्वक बाच्ने अवस्थाको निर्माणका लागि बोर्डले कार्य गरिरहेको जानकारी समेत गराए ।
सदस्यसचिव बस्नेतले प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी नभएको सोलुखुम्बु, सुनसरी र खोटाङलाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनिश्चित गर्न असफल भएको भन्दै सो जिल्लाका खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने समेत बताए ।
जेठ २६ गते हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका खेलाडीहरूले भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा १ हजारभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ ।
यहाँबाट छनोट भएका खेलाडीले काठमाडौंमा जेठ २८ देखि ३० सम्म १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने छन् ।



















