भ्रामक कुरा गरेर एन्फालाई विवादमा पार्ने प्रयास हुँदैछ : उपाध्यक्ष लामा 

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार २१:२६

विराटनगर । लाओस यात्रामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार लाओससँग छनोट खेल खेल्ने छ ।

सन् २०२७ मा साउदी अरबमा हुने एसियन च्याम्पियनसिपका लागि छनोट खेल खेलिरहेको नेपाली टोलीको प्रदर्शन उत्कृष्ट रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मंगलबार लाओसविरुद्ध राजधानी भेन्टियानमास्थित न्यू लाओस फुटबल मैदानमा हुने ‘अबे’ खेललाई लिएर एन्फाका उपाध्यक्ष दावा लामाले नेपाली टोलीको अभ्यास र प्रदर्शनलाई सकारात्मक रूपमा लिएको बताए ।

उनले भने, ‘फिफा वरियतामा हामीभन्दा २२ औँ स्थानमाथि रहेको हङकङसँग गोलरहित बराबरी खेल्नुले टोलीको उर्जा बढेको देखिएको छ । खेलमा केही कमीकमजोरी भएका होलान् । प्रशिक्षक र खेलाडीले सुधार गर्दै जाने विश्वास लिएको छु । लाओससँग पनि हामीले सकारात्मक नतिजा अपेक्षा गरेका छौँ ।’

पाहुना टोली भए पनि लाओसलाई घरेलु मैदानमा हराएको अवस्था खेलाडीले नतिजा आफ्नो पक्षमा पार्नेमा आफू विश्वस्त रहेका उनको भनाइ छ ।

लाओसमा अत्यधिक आर्द्रता (ह्युमीडीटी) रहेको हुँदासमेत खेलाडीहरू उच्च मनोबलका साथ अभ्यासमा जुटिरहेको उनले बताए ।

उपाध्यक्ष लामाले भने, ‘बेलुका ६ बजेसम्म अत्यधिक आर्द्रताको अवस्था छ । खेलाडीहरू अपरान्ह ४ बजे अभ्यासका लागि मैदान निस्कँदासमेत अत्यधिक गर्मी हुने गरेको छ । तर, पनि उनीहरू राष्ट्रका लागि निरन्तर राम्रो नतिजा ल्याउन खेलिरहेका छन् । यो हामी सबैका लागि सुखद पक्ष हो ।’

टोलीले घरेलु मैदानमा लाओसलाई पराजित गरिसकेको हुँदा पाहुना टोलीका रूपमा सजग रहनुपर्नेमा जोड दिएका उपाध्यक्ष लामाले खेलको जिम्मेवारी नै टोलीमाथि रहेको बताए ।

हङकङ र लाओसका लागि विभागीय प्रमुखको जिम्मेवारीमा रहेका लामाले खेलाडी र टोलीलाई पर्ने बाधा, समस्या र चुनौतीलाई सहजीकरण गर्न तयार रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी मुलुकको प्रतिनिधित्व गर्दै आएका छौँ । खेलाडीको जिम्मा खेल्ने हो । हामीले भने उनीहरूलाई पर्ने समस्याको सहजीकरण गरिदिने हो । त्यसका लागि म टोली म्यानेजर र केही नेपाली अफिसियलसँगको सम्पर्कमा छु । उहाँहरूले भने बमोजिम काम भइरहेको छ ।’

नेपाली टोलीलाई प्रशिक्षकको जिम्मा लगाएको बताउँदै उनले भने, ‘प्रशिक्षकको जिम्मामा टोली छ । हङकङबाट यहाँसम्म आइपुग्दा उहाँले हामीसँग कुनै छलफल गर्नुभएको छैन । हामीलाई लाओसविरुद्ध नतिजा राम्रो आउँछ भन्ने विश्वास छ । यद्यपि, केही तलमाथि हुँदा त्यसको जिम्मा प्रशिक्षकले लिनुपर्छ । त्यसो हुँदा उहाँमाथि प्रश्न समेत उठ्न सक्छ । अहिलेसम्म हेड अफ डेलिगेसन र प्रशिक्षकबिच संवाद हुन सकेको भने छैन ।’

प्रशिक्षक म्याट रसले हङकङविरुद्धको खेलमा फरवार्ड पोजिसनका खेलाडीलाई सो अवसर नदिएको बताएका उनले सो खेलमा नेपालको जित हुने सम्भावना बलियो हुँदाहुँदै पनि बराबरीमा रोकिनु परेको उल्लेख गरे ।

उपाध्यक्ष लामाले भने, ‘सो खेलमा प्रशिक्षकले सुरुबाटै टोलीलाई रक्षात्मक रूपमा प्रस्तुत गरे । आक्रामक रणनीतिमा जाँदा नतिजा हाम्रो पक्षमा आउन सक्ने अवस्था बन्न सक्थ्यो ।’

त्यसैगरी, एकअर्को प्रसंगमा उपाध्यक्ष लामाले पछिल्लो समय नेपाली फुटबलको निकाय एन्फालाई केही गलत तत्त्वले गलत र भ्रामक कुरा राखेर विवादमा पार्ने प्रयास गरेको आरोप लगाए ।

विगतबाट बिग्रिएका फुटबलका अन्तर्राष्ट्रिय सम्बन्धलाई अहिलेको नेतृत्वले सम्हाल्दै आएको बताएका उपाध्यक्ष लामाले फिफाले समेत पहिलो पटक विद्यालय स्तरीय फुटबल विकासका लागि ३२ हजार बढी फुटबल सहयोग गरेको उल्लेख गरे ।

एन्फामाथि विभिन्न दोषारोपण लगाउने क्रमभन्दा पनि कार्य समिति फुटबलको विकासमा लागि परेको उनको भनाइ छ ।

उनले भने, ‘पछिल्लो ४ वर्षमा नेपाली फुटबलमा केही भएन भन्नेहरूले भ्रम सिर्जना गरेका छन् । हामीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, होम एन्ड अबे, रोकिएको ‘ए’ डिभिजनको सुचारु, ‘बी’ डिभिजन सकेको, ७ प्रदेशसहितको प्रेसिडेन्ट कपलगायतका प्रतिस्पर्धा गराएको र गराउने गरी अघि बढेका छौँ । फुटबल विगतमा भन्दा अहिले बढी भएको मेरो दाबी छ ।’

त्यसैगरी, एएफसीको सोसियल रेस्पोन्सिविलिटीको सदस्य रहिरहँदा एन्फामा ‘फुटबल फर क्लिनिक अन्डर प्रिभिलेज  चिल्ड्रेन कार्यक्रमसमेत ल्याउन सफल भएको उनले बताए ।

जसअन्तर्गत मधेस प्रदेशको विभिन्न ८ वटा जिल्लाका १६ वटा विद्यालयका २ हजार ७ सय बढी र कर्णाली प्रदेशका विभिन्न विद्यालय गरी समग्रमा ६ हजार ५ सय बढी विद्यार्थीलाई फुटबलप्रति आकर्षित गर्न एक साता सो अभियानमा जोड्न सफल भएको उपाध्यक्ष लामाको भनाइ छ ।

एन्फाभित्र देखिएका केही समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताएका उनले नेपाली फुटबलको विकास र खेलाडीको भविष्यका लागि एक हुँदा सफल हुने प्रस्टाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.