
झापा । युवाहरूलाई शारीरिक सुगठन खेलप्रति उत्प्रेरित गर्ने र नवप्रतिभाको पहिचान गर्ने उद्देश्यले ‘तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ ।
बडी ग्यारेज फिटनेस हाउसले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता यही भदौ २७ र २८ गते झापाको बिर्तामोडमा सम्पन्न हुने जानकारी दिइयो ।
प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल गरी दुई दिनसम्म सञ्चालन हुनेछ । ‘अ प्ले ह्वेर ग्रेट शेप इज एन अथेन्टिक प्यासन’ भन्ने मूल नाराका साथ अघि बढिरहेको बडी ग्यारेजले आधुनिक र अन्तर्राष्ट्रिय स्तरका उपकरणहरूका साथै अनुभवी प्रशिक्षकहरूको माध्यमबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुन पाउनेछन् ।
नेपालभरबाट अनुमानित २ सय जना खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताको कुल अनुमानित लागत ३५ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख, दोस्रो हुनेलाई ३ लाख, तेस्रो हुनेलाई २ लाख, चौथोलाई १ लाख रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । यस्तै, पाँचौं हुनेलाई ७५ हजार र छैटौंलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।
बडी ग्यारेज फिटनेस हाउसका अध्यक्ष आदित्य पराजुली र संयोजकहरू राम दाहाल तथा दिपेन चौधरीले यस प्रतियोगितालाई प्रदेशकै गौरवको रूपमा रहेको बताउँदै सबै सरोकारवालाहरूलाई सहयोग पुर्याउन आग्रह गरे ।



















