
विराटनगर । विराटनगरमा भएको १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मोरङले जितेको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कोशी प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डमा २४ स्वर्ण, १६ रजत र ६ कांस्य पदकका साथ मोरङ प्रथम भएको छ ।
मोरङले ०७९, ०८० र ०८१ मा लगातार राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुँदै रनिङ शिल्ड कब्जा गरेको मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोखरेलले जानकारी दिए ।
उनका अनुसार पछिल्लो ३ वर्षदेखि मोरङमा विभिन्न खेलकुदका कार्यक्रमका साथै नियमित प्रशिक्षण हुने भएकाले खेलाडीले नतिजा राम्रो ल्याउन सकेको छ ।

झापा १६ स्वर्ण, ८ रजत र २० कांस्य पदकका साथ द्वितीय र इलाम ६ स्वर्ण, ४ रजत र १२ कांस्य पदकका साथ तृतीय भयो ।
प्रदेश स्तरीय खेलबाट छनोट भएका खेलाडीहरू काठमाडौंमा जेठ २८ देखि ३० सम्म १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने छन् ।
भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरेर १ सय १५ जनाको सहभागिता रहने बोर्डले जनाएको छ ।
विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुका साथै काठमाडौंका लागि बिदाइ गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रपति रनिङ शिल्डमा कोशीबाट प्रतिनिधित्व गरेका खेलाडी प्रथम भए १ लाख रुपैयाँसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।
उनले व्यक्तिगत र टिम स्पर्धामा प्रथम हुनेलाई खेलाडीलाई १ लाख नगदका साथै प्रशिक्षक र व्यवस्थापकलाई समेत उचित सम्मान गर्ने बताए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैँचा नगरपालिकाको सहकार्यमा खेलग्राम निर्माण हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
त्यस्तै, बिदाइ कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले मौसमको प्रतिकूलता, छोटो समयको सूचना र अन्यौलताको बाबजुद खेलाडी छनोट गर्न सफल भएको भन्दै खेलाडी तथा सरोकारवालाहरूलाई धन्यवाद दिए ।
उनले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई महत्वको क्षेत्रको रूपमा लिएकोले खेलाडीहरूलाई निर्धक्क भएर खेल्न आग्रह गरे ।
सो अवसरमा बोल्दै खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलाडीलाई प्रोत्साहन, सम्मान र सम्मानजनक वातावरणमा खेल खेल्ने माहौल बनाउनका लागि खेल गतिविधि गरिरहेको बताए ।
उनले गत वर्ष जस्तै यस पटक पनि राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने बताए ।



















