आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी हो ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख र चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख बजेट विनियोजन गरे । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।
बजेटले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोचलाई आधार बनाउँदै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । बजेटले ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरिएको छ ।
बजेटमा स्वस्थ माटो, स्वच्छ बाली अभियानका लागि ८ करोड र कृषक सबैभन्दा अगाडि कार्यक्रममार्फत व्यावसायिक कृषकलाई सम्मान गरिने लक्ष्य लिइएको छ । कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड र प्रमुख सहरहरूमा वधशाला निर्माणका लागि ७ करोड विनियोजन गरिएको छ ।
घिउ र छुर्पी जस्ता उत्पादनको निर्यात प्रवर्द्धन गर्न प्रतिकिलो १२० रुपैयाँ अनुदान दिइने बजेट वक्तव्यमा उल्लेख छ । बाली उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि १६ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको सरकारले पशुपन्छीजन्य उत्पादन स्वदेशमा उपभोग र निर्यात प्रवर्द्धनका लागि २२ करोड बजेट विनियोजन गरेको छ । यस्तै एक निर्वाचन क्षेत्र एक विशिष्ट उद्यम अभियान चलाउने सरकारको योजना छ । अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि २ करोड बजेट विनियोजन गरेको छ ।
कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने नाराका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२ सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटकीय पूर्वाधार विकास र विस्तारका लागि ७७ करोड ४० लाख, हलेसी, पाथीभरा, बराहक्षेत्र लगायतका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा जोड दिइएको छ । भौतिक पूर्वाधारको संरक्षण र भू संरक्षण मैत्री खेतीका लागि ११ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको सरकारले चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्धुम पदमार्ग विकासका लागि ५ करोड ७५ लाख विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुदको आयोजना गरी खेल पर्यटनको प्रवर्द्धन गर्न ५० लाख विनियोजन गरिएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत तथा व्यवस्थापकीय सुधार गर्न १४ करोड, विशेष प्रकृतिका बालबालिका अध्ययन गर्ने स्रोत कक्षामा कार्यरत आयाको प्रोत्साहनका लागि मासिक दुई हजार रुपैयाँको दरले प्रोत्साहन दिने, दमकमा अटिजम अनुसन्धान केन्द्र विकास गरिने, मुसहर समुदायका छोरीको शिक्षामा पहुँच बढाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमुनाको रूपमा सञ्चालन गर्न १ करोड ४० लाख विनियोजन गरिएको छ । यस्तै अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको लागि ११ करोड बजेट विनियोजन गरिएको छ ।
कोशी प्रादेशिक घुम्ती अस्पताल सेवा सञ्चालन गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गरिने पनि सरकारले घोषणा गरेको छ । शैलजा आचार्य हृदय रोग केन्द्रलाई विशेषज्ञ सेवासहितको अस्पतालमा स्तरोन्नति गरिने र मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियानमार्फत स्वास्थ्य सचेतना बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । प्रदेशका अस्पतालमा सेवा विस्तारका लागि आवश्यक पर्ने उपकरण र जनशक्तिका लागि ६ करोड २५ लाख विनियोजन भएको छ । यस्तै खोटाङमा निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि ३ करोड, विपन्न दृष्टिविहीन विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स जडित चस्मा उपलब्ध गराउने, प्रदेश जनस्वास्थ्य ल्याबको सुदृढीकरण र विस्तारका लागि ३ करोड १० लाख विनियोजन गरिएको छ ।
प्रदेशका १० वटा स्थानीय तहमा समावेशी तथा जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तर्जुमा गर्न ३ करोड २५ लाख बजेट विनियोजन भएको छ । प्रदेशको १० हजार हेक्टर कृषियोग्य भूमिमा सतह तथा भूमिगत सिँचाइ प्रणालीमार्फत सिँचाइ सुविधाका लागि ४ करोड, सङ्घ, प्रदेश, स्थानीय तह, विकास साझेदार र स्थानीय उपभोक्ताको संयुक्त साझेदारीमा मध्य पहाडी क्षेत्रका आठ जिल्लाका साना सिँचाइ कार्यक्रमका लागि ११ करोड ३४ लाख, बाढीजन्य प्रकोपबाट क्षतिग्रस्त सिँचाइ प्रणालीको पुनर्स्थापना र पुनर्निर्माणको लागि ६६ करोड २९ लाख, ताप्लेजुङको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजना र सोलुखुम्बु जिल्लाको आमादब्लम साना जलविद्युत आयोजनामा सेयर लगानी गर्न १० करोड, मेची रङ्गशालामा फ्लडलाईट जडान कार्यका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ ।
प्रदेश सरकारबाट निर्मित सडक तथा सडक पुलको नियमित, आकस्मिक र आवधिक मर्मत सम्भारलाई व्यवस्थित गर्न ६५ करोड, प्रदेशभित्र निर्माण हुने भौतिक पूर्वाधारको गुणस्तर मापन गर्न प्रयोगशाला स्थापनाका लागि २ करोड, सडक सुरक्षा कार्यक्रमका लागि ४ करोड ५० लाख, कोशी जनता आवास कार्यक्रमका लागि ४ करोड, मोरङको रंगेली नगरपालिका र इलामको सूर्योदय नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्न १ करोड, वृहत् विराट विकास क्षेत्रको अवधारणा कार्यान्वयन गर्न ३ करोड बजेट विनियोजन गरिएको छ । यस्तै ६ वटा बेलिब्रिज खरिदका लागि ११ करोड विनियोजन गरेको छ ।

























