
विराटनगर । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपाल खबरविरुद्ध दायर गरेको अदालतको अवहेलना रिटमा जिल्ला अदालत काठमाडौंले समाचार नमेट्नुको कारण देखाउन आदेश जारी गरेको छ ।
न्यायाधीश रामचन्द्र खड्काको इजलासले यस्तो आदेश जारी गरेको हो ।
नेपाल खबर र बिजमाण्डु अनलाइनमा जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा निवेदन दिएका थिए ।
उक्त निवेदनमा गत जेठ २७ गते जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश गरेको थियो । साथै असार ४ गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि बोलाएको थियो ।
उक्त आदेशमा नेपाल खबरले सार्वजनिक पदमा बसेका व्यक्तिहरू सधैँ जनताको निगरानीमा रहने भएका कारण उनीहरूका विषयमा समाचार लेख्ने आफ्नो अधिकारको प्रतिरक्षा गर्दै जवाफ पठाइसकेको छ ।
समाचार नमेटेपछि श्रेष्ठले बुधबार नेपाल खबरविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । अदालतको अवहेलनामा जिल्ला अदालतले कारण देखाउन आदेश गरेको हो ।
यता निषेधाज्ञा निवेदनमा अन्तरिम आदेशका लागि बुधवारदेखि भएको सुनुवाइ सकिएको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

























