
विराटनगर । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञा रिट काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ ।
न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले श्रेष्ठको निषेधाज्ञा रिट खारेज गरेसँगै दुई अनलाइन (नेपालखबर र बिजमाण्डु) ले समाचार अब हटाउन नपर्ने भएको छ ।
अनलाइनमा जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा निवेदन दिएका थिए ।
यता श्रेष्ठले अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार समाचार नमेटेको भन्दै नेपालखबरलाई विपक्षी बनाउँदै बुधबार दायर गरेको अदालतको अवहेलना मुद्दामा भने कारण देखाऊ आदेश जारी भएको छ ।
न्यायाधीश रामचन्द्र खड्काको इजलासले समाचार नमेट्नुको कारण देखाउन आदेश जारी गरेको छ ।

























