
म मर्दा मेरो मृत्युमाथि
शोक गर्ने
कसैलाई अधिकार छैन।
म जान्छु
जसरी आगो लागेको घरबाट
धूवाँ जान्छ।
मेरो जानु मेरो जानु हो
भूकम्पमा
खसेको छाना र
पृथ्वीका बीच किचिनुबाट फुत्कनु !
म गइसकेपछि म हुन्न,
म हुन्न
वर्षाको रातमा चट्याङ नभए जस्तो !
म मर्दा मेरो मृत्युमाथि
शोक गर्ने
कसैलाई अधिकार छैन !
म जान्छु
एउटा ताराजस्तै
जहाँ
कतै भर नभएको आकाश हुन्न ।

























