बक्यौता हिसाब

Share this
691shares
मुलुकी खबर
नवीन अभिलाषी
clock२०८२ असार ७, शनिबार ११:००

बाबु साहेब
जुंगा हल्लिएको छ तपाईंको
हामीले कुरा बुझिसकेका छौं।

गर्जिरहेको बादल मुन्तिर,
झरीले भिज्दै गरेको चंगाजस्तै छौं हामी ।
बाजको अन्तिम झम्टाइ पर्खिरहेका चल्लाहरूझैँ
यतिबेला
हाम्रो अनुहारमा मृत्युले ठट्टा गरिरहेछ ।

तर तीन हजार वर्षदेखि
दबाइएका गलाहरू खसखस गरिरहेछन् ।
चलमल-चलमल गर्दैछन्,
यी जन्जिरले कस्सिएका हात गोडाहरू
र बेहोस प्रायः यो छाती आज अचानक
ढुकढुक-ढुकढुक गरिरहेछ ।

हेर्नुस् तपाईंको पैतालामुनि
यो धुलो उठेर फट्फटाइरहेछ पखेटा ।

बाबु साहेब
एकतारे हो तपाईंको सिंहासन,
रगतको एक छिर्कोले चुँडिन सक्छ – च्वाट्ट
हामी त रक्तबीज
एउटा मृत्युको अवसरमा
हजार जीवनले टुसा उमार्छ ।

समयको यही कालो कुइनेटोमा
अब कि बिट मारिनेछ- शूद्र इतिहासको
कि सुरु हुनेछ, अर्को उज्यालो अध्यायको ।

यतिबेला
मुक्ति र मृत्युको मझधारमा
ढलपल ढलपलको गीतहरू गाइरहेका छौँ ।
थाहा छैन, अब के हुन्छ ?
मात्र थाहा छ
कि कचाकच काटिने छ, हामीलाई
र हाम्रै लासको मञ्च उठाएर भाका सारिने छ,
कि थुत्नेछौँ हामीले सिंहासनबाट
र वषौंदेखिको हिसाब चुक्ता गर्नेछौँ ।

तर मञ्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भूगोलमा
आफै अनागरिक बन्न ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.