मौन संवाद

Share this
659shares
मुलुकी खबर
शुभ लक्ष्मी लम्साल
clock२०८२ असार ७, शनिबार १०:२३

यसबेला म मौन छु 
जसरी 
मौन हुन्छन्  डालीमा फूलहरू
मौन हुन्छन् रुखहरू
मौन हुन्छन् पहाडहरू
मौन हुन्छ आँधीबेहरी पछि थामिएको समुन्द्र
मौन उड्छन् चञ्चल पुतलीहरू
मात्र आवरण हेरेर
थाहा पाउन सकिँदैन
मन भित्रका कुरा ।

बाहिर शान्त देखिए पनि 
जे पनि चलिरहेको हुन सक्छ मन भित्र

चट्यांग सहितको कालो बादल
हावाहुरी या शीतल मौसम
अग्ला अग्ला हिमाल या
बगिरहेको हिम पहिरो
लहराउँदै गरेको हरिया बोट
रेतै रेतको धुलो उडिरहेको मरुभूमि 
या जीवनका कति कति कथाहरू
या हुन सक्छ 
शान्त बगिरहेको नदीजस्तै आफ्नासँगका  याद ।

मौन छन् मुस्कुराइरहने यी ओठ 
मनमै गएर अडिएका छन् 
स्तब्ध  छन् बोलिरहने यी आँखा
खर्लप्पै मुटु भित्र अलप भएका छन्  ।

यसरी चुपचाप बस्नु 
अकारण हुनै सक्दैन
 मन मनसँग नै 
संवाद गरिरहेको हुनसक्छ
या आफ्नै छुटी गएका यादलाई
नियाली रहेको पनि हुनसक्छ ।

भो नबोलाऊ 
मौन  बसेकाहरूलाई 
सायद गहिरो संवादमा हुन सक्छन् 
बगिरहेको नदीका छालसँग
या हावाका तरङ्गसँग
या गरिरहेका हुन  सक्छन् 
आफैसँग अलौकिक संवाद ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.