
बुवाको औँला समातेर हिँड्ने उमेरमा अजा (हुजरबुवा)को काँध चढेर गाउँ डुलेको अझै यादको सन्दुकमा साँचेर राखेको छु ।
आफ्नै बा चिन्न पनि हम्मेहम्मे परेको थियो । किनभने माओवादी द्वन्द्वले मेरो बासँगको बाल्यकाल नै खोसिदिएको थियो । पेसाले नेपाल प्रहरी रहेका बा देशमा संकटकाल भित्रिएपछि गाँउ आउने बाटो नै टुट्यो ।
गाउँ, त्यसमा पनि मेरो घर द्वन्द्वले नमजासँग गाँजेको थियो । मेरो परिवारले पाक्न लागेको भात राम्रोसँग खान पाएनन् । दसैँमा खान साँचेर राखेको अन्न आफ्नो भनेर राख्न पाइएन । बाको बर्दीवाला ज्याकेट लुकाउँदै गर्दा अजि (हजुरआमा) र मेरो आमाको आँखाबाट छल्किएका आँशु अझै ओभाएको छ जस्तो लाग्दैन । किनकि मैले मेरो बाल्यकाल सुखद् जिउन पाइँन।
निम्न वर्गीय परिवार, त्यसमा पनि द्वन्द्वले खोसेको खुसी, मेरो बाल्यकाल पक्कै सहज थिएन । सँगै सुतेका बुबा झिसमिसेमा ओछ्यान छोडेर हिँडेदेखि मैले मेरो बुबाको अनुहार देख्न पाइँन । मेरो अजाअजीले कथन गर्नुहुन्छ । सायद आमाको त्याग र बुवाको दर्बिलो साथ पाउने तड्पाइले पनि मलाई बलियो बनाएको हो जस्तो अनुभूति हुन्छ ।
बाल्यकालमा बेहोरेका दुःखले पनि उमेरको खुड्किला बढ्दै गर्दा एउटा सुखद् र सफल गन्तव्यको खोजी गर्न पछि हटेनन् मेरा पाइतलाहरू । बाको अनुहार हेर्न आतुर मेरो मन र प्रतीक्षा १० वर्षको उमेर हुँदा पूरा भएको थियो ।
मेरी आमाले बुबा भेट्न धनकुटा पुर्याउनु हुँदा ‘ममी उहाँको हो ?’ भन्ने मेरो प्रश्नको वाणले मेरा बाआमा दुवैको मुटुमा नमिठो गरी छेडेको थियो होला । तर, परिस्थितिलाई समान्य बनाउँदै आमाले मन्ध मुस्कानसहित ‘तिम्रो बुवा’ भनेर परिचित गराउनु भएको त्यो क्षण अझैपनि झलझली स्मरणमा छ ।
बालाई भेटेर गाउँ फर्किएपछि झनै त्यहाँ बस्ने वातावरण सकसपूर्ण भयो । डर र त्रासबीच बाँचिरहेको बाल्यकाल साथीभाइसँग हलो जोतेर त कहिले भारी बाकेर बित्यो । दुःखसुख विद्यालय धाउँदै गर्दा गाउँमा प्रहरी र सेनाको परिवारलाई अपहरण गर्ने हल्ला चलेपछि घरमा पीडाको कालो बादल मडारिन थाल्यो । किनकि म पनि एक सिपाहीको सन्तान थिएँ । मेरी आमा दमको रोगी, पाको हजुरबाआमा, हुर्किदै गरेको २ दिदीहरू, रुवाइ घरको चारकुनामा घन्किन थाल्यो । आमा गुमाउने त्रासले हामीले बुवा भएको ठाँउमा रातारात पठाएका थियौं ।
बुवालाई गोली लागेको खबरले आँखामा आँसु, मनमा भय, भोको पेट लिएर धरानको घोपा आइपुग्दा सबै शिथिल भइसकेका थियौं। छोरालाई गोली लागेको खबरले विक्षिप्त अजाअजी अनि कलिलो नातानातिनी सम्हाल्न चानचुने कुरा थिएन ।
बालाई ‘बा’ महसुस नै नहुने उमेरमा भौतिक र भौगौलिक रुपमा टाढा बनाएको पीडा थियो । त्यसमा आमालाई हेर्दाहेर्दै डाँडा कटाएको यादले अझै पनि आँखाका डिल आँशुले भरिएर आउँछ । घरको दलिनमा आँशुको दाग बोकेर बसेका ती दिनहरू फेरि सम्झन मन त लाग्दैन । तर, कहिलेकाहीँ मानसपटलमा छरपस्ट भएर आउँदो रहेछ ।
आमाबुवाको काखबाट टाढिएका अवोध सन्तानहरूलाई विस्तारै अजाअजीको अगाँलो न्यानो लाग्न थाल्यो । बाको तृष्णा मेट्न अजा पछ्याउने म आमाको माया महसुस गर्न अजीको काखमा लुटुपुटु गरेको ती दिन आजजस्तै लाग्छ ।
दु:खसुख जीवनको यात्रा चलिरहेकै थियो । त्यही क्रममा २०६० सालमा नमिठो खबर सुन्न पर्यो । रेडियोको खबरसँगै घरमा रुवाबासी चल्न थाल्यो । बुवालाई माओवादीको गोली लागेको खबर समाचारमा अजाले सुन्नु भएछ ।
बुवालाई गोली लागेको खबरले आँखामा आँसु, मनमा भय, भोको पेट लिएर धरानको घोपा आइपुग्दा सबै शिथिल भइसकेका थियौं। छोरालाई गोली लागेको खबरले विक्षिप्त अजाअजी अनि कलिलो नातानातिनी सम्हाल्न चानचुने कुरा थिएन । तर, पनि सन्तानको अगाडि बाआमा साक्षत भगवानको रुप हो भन्दा फरक नपर्दो हो । किनकि सम्हालिनु पर्ने बाध्यता थियो ।
मृत्युको मुखमा पुगेर बाँच्न सफल भएको मेरो बुवासँग सहयात्रा गर्ने अवसर त्यही घटनापछि मात्रै मिल्यो । बुवाले जागिरे जीवनबाट अवकाश पाएपछि हामी मधेसमै बसाइँ आयौं । गाउँ फर्किने परिस्थिति बनिसकेको थिएन ।
ठाँउ परिवर्तन गरेपनि बाध्यता र दुःखले नछोड्ने रहेछ । परिस्थिति बदलिए पनि भोगाइ उही हुने रहेछ । परिवार पाल्न आमाको लेभरको काम र बुवाको सेक्युरिटी गार्डको कामले मलाई पढ्न पर्छ भन्ने खुब इख जागेर आयो । आमा र बुवाको दुःखलाई महसुस गर्दै म पनि देशको सुरक्षा गर्ने कुनै निकायमा नै काम गर्छु भन्ने अठोट बोकेको थिएँ ।
समयसँग उमेरका खुड्किला थपिँदै गयो । त्यो सँगै जिम्मेवारीले काँध पनि उत्तिकै गहकिलो हुँदै गयो । पैसा नभएर पढ्न नपाएका दुःख उत्तिकै छन् । रहरहरू मारेर सहरमा भौतारिएका कथाहरू थेगिनसक्नु छन् । अभावले भोक हराएका थुप्रै कथाहरू विराटनगरको कुनाकन्दरामा अझै पनि जीवितै नै छ जस्तो लाग्छ ।
सरकारी जागिरे हुने एउटा मेरो सपना पुरा गर्न सफल भएपनि अब छोरा अधिकृत बनोस् भन्ने अर्को सपना पूरा गर्नु बाँकी छ । सायद, दुःखले हुर्किएको बाल्यकाल भएर पनि होला, सपनाका चाङहरू धेरै थुप्रिएका छन् । समयले उमेरै नपुगी परिपक्व बनायो ।
दुःखले परिवारको लागि इमानदारी हुनुपर्छ भन्ने अर्को पाठ पनि सिकायो । हुन त त्यो दिन नहुँदो हो त यो दिनको कल्पनासमेत गर्न सकिन्न थियो होला । विगतका तिता क्षणहरू प्रति पनि आभारी छु । किनकि पुनः नयाँ तरिकाले म र मेरो परिवारलाई जीउन सिकायो ।



















