
करिब २७ वर्षपछि मैले लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमुनि केबुक गाउँमा पुग्दै थिएँ । २७ वर्षअगाडि रहर गरेर त्यस ठाउँमा पुगेको थिएँ भने यसपल्ट पुग्नैपर्ने भएर पुगेँ । पहिले मलाई मेरा सानोबुवाले आफ्नो गाउँघर घुमाउन लिएर जानु भएको थियो । यसपटक सानोबुवा बितेको खबरले म पुग्दै थिएँ ।
छ्यामा (सानिमा) म पुगेपछि धुरु धुरु रुन थाल्नु भयो । मेरो आमा ३४ वर्षकै उमेरमा विधवा बन्नु भएको थियो । माकुराको बच्चाजस्तो हामी ४ जना छोराछोरीलाई पहाडदेखि तराई झारेर हुर्काउनुभयो, बढाउनुभयो । हामीलाई हुर्काउने बढाउने क्रममा हृदयरोगी बनिसक्नु भएको रहेछ । ५० वर्ष टेक्नेबित्तिकै आमाले संसार छोड्नु भयो । छ्यामा तिनै दुःख सम्झेर रुनु भयो ।
‘दिदी ३४ वर्षमा, म ५५ वर्षमा विधवा हुनुपर्ने, दिदीबहिनीले कस्तो जन्म लिएका रहेछौं देविन्द्रे ?’ छ्यामाको हिक्कासँगै फुटेको बोली थियो । मलाई यस्तो बेला न बोली आउँछ, न छेउमा गएर सान्तवना दिन आउँछ । अक्क न बक्क परेर बसिरहेँ ।
छ्यामाको लागि म धेरै नजिकको मान्छे हुँ । किनभने मेरो दाजुपछि म र २ बहिनीहरू करिब ६ वर्षभित्र जन्मिसकेका हौं । त्यसैबेला लेकको घरबारीमा छुट्टै बस्नुपर्ने, बुवा देशपरदेश लागिरहनुपर्ने हुँदा आमालाई लालाबाला हुर्काउन धेरै गाह्रो भयो । तसर्थ, म २ वर्षको हुँदा मलाई मावली पुर्याइयो । त्यसपछि मेरो आमा हुनुभयो – छ्यामा ।
छ्यामाले म पाएपछि सबै बिर्सनु भयो । मामाले पछि मलाई सुनाउनुहुन्थ्यो –‘छ्यामाले भान्जालाई एकछिन नछोड्ने, तल्लोघर माथ्लोघर जाँदा पनि बोकेरै जाने । कहिले पुतलीजस्तो शृङ्गारेर खेलाउने, कतै एक्लै छोडेर जानुपर्दा न्यास्रो मान्ने, अनि फर्कनेबित्तिकै देविन्द्रे खोइ भनेर खोज्थ्यो नि ।’
म बिहान अलि ढिलो उठ्ने । म उठिन्जेलमा मामामाइजू र छ्यामाले ढिकीजाँतो गरिसक्नु हुन्थ्यो । म उठेको जनाउ चाहिँ उठेर एकछिन प्याँ प्याँ रुने । एकदिन चाहिँ उठ्नसाथ एकचोटी प्याँ गरेपछि बन्द भयो रे । निकै लामो ढिकी कुटेपछि पो मामाले सम्झिनु भएछ ।
‘देविन्द्रे उठ्यो, तर के पो भयो चालचुल छैन, अगेनामा पो पर्यो कि ? जा–जा कान्छी गएर हेर’ मामाले छ्यामालाई अराउनु भएछ । छ्यामाले दौडदै गएर हेर्नु भएछ । मैले –ह्याँ गरेर मुसुक्क मुस्काए छु । त्यतिन्जेलसम्ममा भर्खरै खारेर राखेको एक हर्पे घ्यू त स्वाहा परिसकेको रहेछु ।
‘देविन्द्रेले त एक हर्पे घ्यू त सकेछ,’ छ्यामाले भन्नु भएछ । घ्यू सकेको पिर त होइन मामामाइजूलाई । तर, भान्जालाई केही पो हुने हो कि भन्ने डरले थुरथुर बनाएछ । ‘तर के हो कुन्नी, भान्जालाई बिसाएन हौ’ मामा त्यो घट्ना अझै सम्झेर हाँस्नु हुन्छ ।
विशेषतः मेरो दाजुको घाँटीमा सानो समस्या आएको थियो । पानीको फोकाजस्तो पलायो । घरमा त्यसको उपचारको लागि धेरै धामीझाँक्री गरे रे । बुवाले मुक्कुमलुङ (पाथीभरा)मा पुग्ने भाकल गर्नु भयो रे । त्यही पनि बिसेक नभएपछि अस्पतालमा उपचार गर्न मेरो बुवा र मामा दाजुलाई बोकेर धरानतिर झर्नु भएछ । त्यसबेलाको धरान झर्ने बाटो भनेको तमोर किनारैकिनार हाक्पारा घाट हुँदै मूलघाटमा आएपछि गाडी पर्खनुपर्ने रहेछ ।
पहाडको ठाउँमा पैसा थिएन । नजिकैको एकजना बाजे पेन्सन थाप्न धरान झरेको थाहा पाएर बुवाले बाटो छेक्ने निर्णय गर्नु भएको रहेछ । बुवा र मामा मूलघाट पुग्नेबेला ती पेन्सने बाजेसँग भेट भएछ । तर, ती बाजेले पेन्सन थाप्नसाथ सबै सकिएको बताएछन् । खासमा ऋण दिन नपत्याएको पनि हो भन्ने मेरो मामाको ठम्याइ छ ।
अब के गर्ने भनेर पिर लिएर मूलघाटछेउमा बुवा बस्नु भएछ । बुवाको तनाव देखेर नजिकैको पसलेले सुझाव दिएछन् – ‘धनकुटामा राजा सवारी हुँदैछ, राम्रो डाक्टर आउँदैछ रे । त्यहाँ उपचार हुन्छ ।’
बुवा र मामामा आशा पलाएछ र अलिअलि भएको बाटो खर्चले गाडी चढेर धनकुटा पुग्नु भएछ । त्यसपछि चेकजाँचपश्चात मेरो दाजुको निःशुल्क उपचार हुने भएछ । बुवा र मामामा कति खुसी पलायो होला भन्ने अहिले अड्कलमात्रै काट्न सकिन्छ ।
दाजुको अप्रेसन भयो, रगत चाहिने हुँदा बुवाले नै दिनु भएछ । १–२ दिन अस्पतालमै राखेर उपचार गराउनुपर्ने हुँदा बिरामी दाजुलाई मामासँग छोडेर बुवा थप पैसा जोरजामका लागि तेह्रथुम जानु भएछ ।
‘त्यो २–३ दिन त राजा सवारीको भोज खाँदै अस्पताल धाउनुको उपाय थिएन नि हौ भान्जा’ मामाले अट्टहास हाँस्दै सुनाउनु हुन्छ । दाजुलाई पूरै बिसेक भएपछि बुवा र मामाले हिले, छथर हुँदै मावली कोबेक लिएर आउनु भएछ । बुवाले दाजुलाई काखमा राखेर औषधि खुवाउनु भयो रे । दाजु उठ्नेबित्तिकै म बुवाको काखमा तेर्सिएँ रे । बुवालाई के गर्ने–गर्ने भएपछि मामामाइजूलाई केही मगाएर मलाई खुवाउनु भयो रे । दाजुलाई पो अप्रेसन गरिएको थियो र औषधि खुवाउनुपर्ने हुन्थयो । त्यो मलाई के थाहा ? बच्चाहरूलाई खुवाउने कार्यक्रम होला भनेर म तेर्सिदिएँ हुँला ।
हो, त्यस्तै समस्याका बाबजुद म मावली बस्न पुगेको हुँ । त्यसबेलाको अवस्था मैले केही थाहा पाउने कुरै भएन । सबै पछि सुनेको भरमा अन्दाज गर्दै अनुभूत गर्न सकेको हुँ । राम्ररी बोली नफुटी मावली पुगेको मैले त्यही पुगेर पुरापुर बोल्न जानेको हुँ ।
मेरो माइजूले भन्नुहुन्छ –‘छिमेकीसँग हामी कुराकानी गरिरहेका थियौं । आँगनमा बसेको कुरा देविन्द्रेले याद गरेछ । पछि त्यो छिमेकी गएपछि माइजू आँगनमा के बसेको हो ? मैले त केही बुझिनँ । एकछिन पछि देविन्द्रले गीतै बनाएर गाउन थालिहाल्यो –‘आँगन बसेको भन्छ मान्छेले । त्यो गीत देविन्द्रेको मुखेमा थियो नि ।’
मावली बसेकै कारण मैले आमालाई दिदी र बुवालाई भेनाजु भन्ने गर्थे । एकदिन मेरो आमा माइती आउँदा केरा कोसेली लिएर आउनु भएछ । अनि छ्यामाले मलाई एउटा केरा दिनु भएछ । मैले आमालाई गएर भनेँ अरे –‘दिदी यो पेला ताछि दे त ।’ आमासँग ‘हुन्छ भाइ’ भन्नुको विकल्प थिएन ।
मेरो मावली बाजे–बोजू अल्पायुमै बित्नुभयो, लगभग ५०–५१ वर्षको उमेरमा । म करिब ४ वर्षको मात्रै थिएँ, धुमिल याद छ त्यो कुरा चाहिँ । चेधाप (खट)मा हालेर घरदेखि लगेको, सबैजना रोएको । घरमा मान्छे भेला हुनु भनेको केटाकेटीको लागि चाडजस्तो मात्रै । म पनि त्यही हुलमा थिएँ । अर्को धुमिल याद भएको चाहिँ ओच्छ्यानमा पिसाब गर्न नछोडेकाले बाँस चिरेर त्यहाँभित्रको पानी खुवाएको याद छ ।
बाजे–बोजू बितेको केही दिनपछि मेरो बुवा मावली आउनु भयो । अनि मामामाइजूसँग मलाई लिएर जाने कुरा गर्नु भएछ । आफ्नो छोरा लान्छु भन्दा रोक्ने कुरै हुन्न । २–२ वर्षसम्म बसेको बच्चासँग एकदमै मायाममता बढिसकेको हुन्छ । तर, मायामोहले थाम्ने कुरै भएन ।
अनि बुवाले मलाई सुर्के फेदाप लिएर आउनु भयो । त्यो दिन बेलुकी छ्यामाले यति तमास गर्नु भयो रे । किन लान दिएको ? म भए ढुंगाढुंगाले दिन्थेँ, भन्दै रुनु भयो रे । मेरो बुवा अलि कालो वर्णको हुनु भएकोले काले भन्न पनि भ्याउनु भयो रे । राति नै देविन्द्रे लिन जाउँ भनेर मामासँग कर पनि गर्नु भयो रे ।
मावलीमा २ वर्ष बसेर कोबेककै हावापानीमा हुर्किएको मैले मेरो गाउँ सुर्केमा कसरी आफूलाई समाहित गरेँ भन्ने कुरा मैले कोहीबाट सुन्न पाइँन । मैले छ्यामालाई खोजेकी खोजिनँ, आमालाई कसरी दिदीबाट आमा भन्न सिकेँ ? उठ्नेबित्तिकै रुँदा घ्यू भेटेँ कि सोते ? ति कुरा सुन्न नपाइ सुर्केमा पूरै घुलमिल भइसकेपछि आफूलाई चिनेको हुँ ।
दाजुभाइ मावल जाने भनेपछि हुरुक्कै । आमाको अनुमति पाए २ जना मात्रै पनि जान्थ्यौं । ओयाकजुङबाट मरालुङ हुँदै खोरङ्वा खोला कटेपछि मोराहाङ सल्लेरीको पुछार आउँथ्यो । सल्लेरी पुछारै–पुछार हिँडेपछि ताङ्वा खोला (ताङमाया) कट्नसाथ मावली गाउँ कोबेक पुग्थ्यौं ।
मावलीमा मामामाइजूबाट पाइने माया, अनि तल्लोघर माथ्लोघरमा आफ्ना दावँले मामा तथा लुङाहरूसँग खेल्न पाउनकै लागि हामी मामाघर गइरहन मन पराउथ्यौं । स्कुलपरतिर ट्याम्के डाँडा भन्ने ठाउँ थियो । त्यहाँको बरमा सुस्ताउँथ्यौं, जंगलमा वनतरुल खोज्थ्यौं । बार बार्नका लागि घोचा काट्थ्यौं । मामा, लुङाहरूले तिस्कोला भन्नु हुन्थ्यो घोचालाई । पारि पुग्न १ घण्टा लागेपनि जंगलदेखि पारिको सिक्देम नजिकै थियो ।
बोली सुन्ने भएकोले ‘ओइ सिक्देमे हो, लाप्पा खेल्न आओ’ भन्थ्यौं । पारिकाले पनि उसैगरी जवाफ दिन्थे । ट्याम्के डाँडाको मुनि खेतको बीचमा एउटा चेप्टो ढुंगा थियो, त्यहाँ चिप्लेटी खेल्थयौं ।
छ्यामा पनि हाम्रो घरमा आइरहनु हुन्थ्यो । छ्यामाको आगमन हाम्रो लागि धेरै खुसीको कुरा हुन्थ्यो । छ्यामा आएको बेला बेँसीदेखि काका धान नाच्न भनेर कस्सिएर आउनु हुन्थ्यो । तर, बाजेहरू अघि धान नाच्न अघि सर्थे । छ्यामाले पनि बाजेहरूलाई फनन घुमाउँदा गुहार–गुहार भन्दै भागेको आँखैमा झलझली छ ।
एकदिन आमाले कान्छी बहिनी र मलाई मावली लिएर जानु भयो । मावल पुग्दा मामाघरमा बेग्लै रौनक थियो । तल्लो घर र माथ्लो घरका मानिसहरू आएर काम गरिरहेका थिए । बेलुकीपख ३ जना जति पाहुना आए । अनि घरभित्र पसेर सबैमा सेवारो गरेर बाहिर सिकुवामा बसे । बिहान गाउँका महिलाहरूले मेरो छ्यामालाई शृङ्गारिरहेका थिए । एकछिन पछि छ्यामालाई तल झारियो, हिजो आएका पाहुनासँग राखियो । छ्याम ठूलो आवाजमा रोइरहनु भएको थियो । छ्यामालाई बिहे गरेर लैजान लागेको कुरा मैले त्यसबेला थाहा पाएँ ।
म बहिनीलाई छोडेर आमा पनि छ्यामाको लोकन्ती जानु भयो । ‘आमा छ्यामालाई कता लगेको ?’ ३ दिनपछि फर्कनु भएको आमालाई मैले सोधेको थिएँ । ‘केबुक’ आमाको छोटो उत्तर थियो ।
मेरो मावली कोबेक, छ्यामाको घर केबुक । कोबेक, केबुक भनेर दोहोर्याउँदै खेल्न निस्किएको थिएँ । हामीमा बज्रपात आइपर्यो । वैदेशिक रोजगारमा जानु भएको बुवाको विदेशमै निधन भयो । भर्खर ३४ वर्ष पुग्दै गरेकी आमाको लागि त्यो भन्दा ठूलो बज्र अरु के नै भयो होला र भन्ने म आजकल कल्पाना मात्र गर्न सक्छु ।
तर, आमाले नहडबडाइ बुवाको कम्पनीले उपलब्ध गराएको केही रकमबाट तराई झार्नु भयो । हामी बसाइँ झर्दै गर्दा छ्यामालाई खबर पठाउनु भए अनुसार छ्यामा र सानाबाउ दिनभर बसन्तपुरमा हामीलाई पर्खनु भयो रे । झिसमिसेमै फेदापको सुर्केबाट कुम्लो कुटुरो बोकेर हिँडेको हामी निकै अध्याँरो हुँदा मात्रै बसन्तपुर आइपुगेका थियौंं । एउटा लिम्बुनीकै होटलमा भेट्ने कुरो थियो । त्यहाँ पुग्दा धेरै पर्खे । अनि भरे है भन्ने खबर दिनु भयो । बसन्तपुर लेक हो भने केबुक बेँसीमा पथ्र्यो ।
हामी तराई झरेपछि पहाडसँग निकै विच्छेद भयौं । कहिलेकाहीँ पहाड उक्लँदा मामाघर पुग्थ्यौं । तर, बसन्तपुरमुनि रहेको छ्यामा घरमा निस्कन सकेका थिएनौं । जिरिखिम्तीबाट कोबेक, मोराहाङ, पौठाक हुँदै ओयाकजुङमा रहेको पहाड घर जान सजिलो नै थियो । तर, बसन्तपुरमुनि पुग्नु, पुगेर उकालै चढेर उता लाग्नु बाटोको हिसाबले कोल्टो परेकैले छ्यामा घर पुग्न असहज भएको हो ।

(कोबेक तेह्रथुममा खिचिएको तस्बिरमा राजेन्द्र खापुङ, छ्यामा खेमकुमारी सम्बाहाम्फे, लेखक, मामाको छोरी कल्पना सम्बाहाम्फे, बहिनीहरू ममता खापुङ र गंगा खापुङ । )
वि.सं २०५४ मा म मावलीघर पुगेको थिएँ । त्यसदिन अचानक सानाबाउ पनि आइपुग्नु भयो । सानाबाउसँग सामीप्यतामा रहेर घुलमिल भएको त्यतिखेर नै हो । सानाबाउले नै प्रस्ताव गर्नुभयो –‘केबुक जाउँ’ ।
त्यसबेला मैले पनि केही दिन घुमफिर गरेर कटाउनु थियो । सहजै हुन्छ भनिदिएँ । जिरिखिम्तीदेखि काँडे हुँदै लसुनेमुनिबाट सुङ्नाम ओरालो लागेर नुभु खोला तरेर केबुक पुगेका थियौं । छ्यामा घरमा म दुईदिन रहेँ । लेक गएर पाहा मार्यौं । सिस्नो टिप्यौं, डुकु खायौं, च्याउ टिप्यौं । एकदमै घुलमिल हुने खालको हुनुहुन्थ्यो सानोबुवा ।
५५ सालको दसैँमा म तेह्रथुम गएको थिएँ । म्याङलुङमा तुम्बा (बडाबा) बिरामी भएर अस्पताल भर्ना हुनु भएको थियो । तुम्बा कुरुवा म थिएँ । त्यसैबेला छ्यामा र सानाबाउ हतास मुहारमा अस्पताल आइपुग्नु भयो । उहाँहरूको काखमा सानो बच्चा (मेरो साइनोमा भाइ) थियो । भाइ साहै्र बिरामी भएकोले चाडवाड नभनी अस्पताल ल्याउनु भएको रहेछ । २ दिन उपचार गरेपछि भाइमा सुधार आयो । र, डिस्चार्ज गरेर लानु भयो । त्यसयता छ्यामासँग भेट भएन ।
हामी आमासहित काठमाडौंमै संघर्षरत थियौं । पढ्ने निहुँ, वैदेशिक रोजगारमा जाने निहुँलगायत अनगिन्ति निहुँ थियो हामीसँग । तर, ती निहुँहरूबाट पार भएको थिएन । संघर्षहरुमा पौडदा तेह्रथुम र मावलीसँग सम्पर्क विच्छेद नै भएको थियो ।
वि.सं २०६५ सालतिर आमा ज्यादै बिरामी हुनु भयो । आमा मुटुरोगी हुनुहुन्थ्यो । त्यसबेला आमाको मन पहाड मात्रै पुगेको थियो ।
‘मलाई पहाड लैजाओ, त्यतै छोड, म त्यहाँ जता गए नि बाँच्छु, केबुक मेरो बहिनीकोमा जान्छु, कोबेक मेरो माइती जान्छु । मकै भुटेको खान्छु, गुन्द्रुकको पातलो झोल खान मन परेको छ । स्कुसको तरकारी खान मन लागेको छ । आफन्त नै आफन्त छन् । हप्तादिन, पन्ध्र दिन पाहुना लाग्दालाग्दै मेरो जीवन बित्छु’ अस्पताल बसाइको क्रममा आमाको मुखबाट यहि आवाज आउँथ्यो ।
‘निको भएपछि है आमा’ हामी भन्थ्यौं । तर, आमा निको हुनु भएन । बाजे–बोजू झैँ ५० वर्षको उमेरमै निधन भयो । आमाबुवाको हामी ४ जना छोराछोरी चारतिर थियौं । दाजु वैदेशिक रोजगारी र व्यावसायको लागि लामो समयदेखि विदेशमा छन् । ठूली बहिनी इटहरीमा, कान्छी बहिनी बुटवलमा, म काठमाडौंमा । म्यासेन्जर ग्रुपमा बोल्ने, खबर आदानप्रदान गर्ने कार्यले सँगै छौं भन्ने अनुभूति भए पनि भौतिकरूपमा हामी टाढा–टाढा थियौं ।
दाजुले नै प्रस्ताव राखे, म आएको बेला सबैले समय निकाल्नु । हामी चारैजना तेह्रथुम जाउँ, मावली जाउँ, सुर्के जाउँ । त्यो सल्लाहलाई पूरा गर्न पनि दशक कुर्नु पर्यो । ०७९ को वैशाखमा मात्रै हामी सबै जुट्न पायौं । मावली पुग्दा छ्यामा आइराख्नु भएको थियो । हामीलाई देख्दा छ्यामा खुसीको आँसु कम्ता छचल्केन । फेरि हामीले छ्यामाको मुहारमा पूरा आमाको अनुहार देख्यौं ।
‘हामी अब चाहिँ भेट्न आइरहन्छौं’ हामीले यसरी छ्यामालाई भन्दै गर्दा छ्यामामा खुसी छाएको थियो । त्यस्तो सल्लाह गरेको पनि ३ वर्ष भएछ । भेट्न त पुगेँ, तर फेरि पनि भेट्दा खुसी होइन, आँशु साटासाट गर्न नै भेट्न पुगेको थिएँ ।
सबैसँग मिलेर बस्ने, नरिसाउने, काममा ध्यान दिने, परिवारलाई माया गर्ने स्वभावका थिए सानोबुवा । उक्त दिन पनि धेरै अलैँची फलाउने, भैसी पाल्ने सरसल्लाह गरिरहनु भएको थियो । अचानक घटना घट्यो, शान्त भएको बेला छ्यामाले सानाबाउबारे भन्नु भयो ।
सिकुवामा मेरो आमा र छ्यामा दिदीबहिनीको तस्बिर झुण्ड्याइएको रहेछ । भाइहरू लाठे भइसकेका रहेछन् । १ भाइ विदेशमा रहेछन् । सानो भाइ माध्यमिक तहमा अध्ययनरत छन् । अन्य २ भाइ पहाड नै फोड्न सक्ने युवा थिए । त्यही कुरामा धेरै आशा गर्न सकिन्थ्यो ।
‘अब यिनीहरूकै आशामा छु । मलाई पाल्छन् होला नी, देविन्द्रे’ छ्यामाको आशा मिश्रित बोली थियो । ‘हुर्केका छोराहरूले पक्कै आमालाई खुसी नै दिन्छन् छ्यामा’ मैले यस्तै सान्तवनाका शब्द राख्दै बिदा लिएको थिएँ ।
हाल : विराटनगर



















