
विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको विराटनगरसँग जोडिएको खण्ड ५ वर्षदेखि अधुरै छ । विराटनगर हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर खण्ड अधुरै रहेको हो ।
हुलाकी सडकको मोरङ खण्डमा ४४ किलोमिटर सडक पर्छ । हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटरको ठेक्का २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले लिएको थियो । असार पहिलो सातासम्म यो सडकको काम २२ प्रतिशत मात्रै भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । उनका अनुसार ७७ करोडमा ठेक्का लागेको यो सडकको निर्माणका लागि ठेकेदार कम्पनीलाई १६ करोड भुक्तानी भइसकेको छ ।
ठेकेदारले भद्रगोल अवस्थामा सडक छाडेका कारण पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । अलपत्र अवस्थामा रहेको हुलाकी सडकको काम अघि बढाउनका लागि मोरङका जनप्रतिनिधिले ३ वर्षअघिदेखि पहल गरिरहेका छन् । ठेकेदार सम्पर्कविहीन हुँदा आन्दोलन गरिरहेका जनप्रतिनिधि नै थाकेका छन् ।
सडक निर्माणका लागि २ वर्षअघि मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, कोशीका प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाइ नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली नगपालिकाका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जीवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै काम गर्न दबाब दिएका थिए । स्थानीयले सडक निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउदेखि चक्का जामसम्म गरे । तर, ठेकेदारले टेरेनन् ।
अभिषेक गिरीको जिम्मामा सडक
हुलाकी सडकको ६ किलोमिटर खण्डको जिम्मेवारी श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले लिए पनि पछि आफैं
आएर काम गरेन । ठेक्का लिएको कम्पनीले पेटी ठेकेदारलाई काममा पठायो । सुरुमा भूपाल श्रेष्ठले जिम्मा लिएका थिए । उनले काम छाडेपछि अलपत्र भयो । ५ वर्षको अवधिमा ठेकेदारले साइड ड्रेन निर्माणको काम पुरा गरेनन् । बिजुलीको पोल सडकमै छ ।
पछिल्लो ५ महिनायता हुलाकी सडकको ६ किलोमिटर खण्ड निर्माणको जिम्मा अभिषेक गिरीले लिएका छन् । निर्माणको जिम्मा लिएका उनले अधुरै रहेको साइड ड्रेन निर्माणको काम गरेका छन् । तर, सुस्त गतीमा । सुस्त शैलीको कामका कारण यात्रु समस्यामा परेका छन् । सवारीसाधन सडकमै फस्छन् ।
गिरीका अनुसार सडक निर्माणको भुक्तानी आयोजनाले दिएको छैन । भुक्तानी नभएका कारण काम सुस्त भएको उनले बताए । गिरीका अनुसार निर्माण सुरु भएको ५ वर्षपछि बल्ल पोल हटाउने प्रक्रिया सुरु भएको छ ।
तत्काललाई हिँडडुल गर्नका लागि खाण्डाखुल्डी पुरेको सडकको बाँकी काम भने ठेकेदारले बर्खा सकिएपछि मात्रै गर्नेछ । आयोजना प्रमुख पोखरेलका अनुसार हालसम्म सडकको २२ प्रतिशत मात्रै प्रगति छ । आयोजनासँग बजेट नहुँदा यो वर्ष कामको भुक्तानी पर्याप्त नभएको उनले बताए ।
उनका अनुसार यो सडक निर्माणका लागि ७७ करोडमा ठेक्का लागेको थियो । हालसम्म १६ करोड रकम भुक्तानी भएको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटक–पटक म्याद थप भएको छ । नयाँ आर्थिक वर्षमा फेरि म्याद थप गर्ने तयारी छ । म्याद थप गर्दा लगत भने नबढ्ने उनले बताए ।


























