कानेपोखरीका गरिब परिवार : उज्यालो युगमा कुपीको सहारा, अँध्यारोमा बित्छ रात

मुलुकी खबर
रवीन्द्र बराल
clock२०८२ असार १२, बिहीबार १३:४६

रंगेली । देश उज्यालो युगतर्फ उन्मुख भइरहेको छ । ‘घरघरमा बत्ती’ भनेर सरकारी नारा गुन्जिरहेको छ ।

तर, मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका केही परिवार अझै पनि अँध्यारोमा रात बिताउन बाध्य छन् । घरमा बिजुलीको सुविधा नहुँदा मट्टीतेलको प्रयोग गरेर कुपी बाल्नुपर्ने बाध्यतामा उनीहरु रहेका हुन् ।

Advertisement

समयले परिवर्तन बोके पनि दलेलीका गरिब परिवारको दैनिकी भने ३ दशकअघिकै जस्तो छ । उनीहरुले बिजुलीको उपभोग गर्न पाएका छैनन् । घरको छानो भरपर्दो छैन । असुरक्षित बसोबासले थप मर्कामा परेका छन् ।

झण्डै ३० वर्षअघि नहर छेउको ऐलानी जमिनमा बसाइ सरेका करिब ५० घरपरिवारमध्ये केहीमा मात्र विद्युत सेवा पुगेको छ । बाँकीले अझै बिजुलीको उज्यालो देख्न पाएका छैनन् ।

बिजुली पुगेका ठाउँमा पनि आर्थिक अभावका कारण विद्युत जडान गर्न नसकेको गुनासो स्थानीयको छ । सन्तानहरू शिक्षाबाट टाढा छन् । बिजुली नुहँदा रातको समयमा घरबाहिर निस्कन पनि डरमर्दो अवस्था छ ।

स्थानीय पाण्डे ऋषिदेवका घरमा २ छोरीसहित ४ जनाको परिवार बस्छ । घर भन्नु मात्रै, टिनको छाना र बाँसको टाटीले घेरिएको एउटा कोठा छ । एउटा बोरा र केही फाटेका कपडाको ओछ्यानमै परिवार सुत्न बाध्य छ। ऋषिदेव भन्छन्, ‘गर्मीमा सर्प आउने डरले रातभर सुत्न सकिन्न। घरको बाँस खस्छ कि हुरीले छाना उडाउँछ भन्ने चिन्ताले सताइरहन्छ ।’

स्थानीय सरकारले २ वर्षअघि आवास कार्यक्रमअन्तर्गत केही दलित परिवारलाई पिलर ठड्याइदिएको थियो । तर, घर अधुरै छोडिएको छ। घरको छाना भरपर्दो छैन । भित्ताहरू बाँसले छेकिएका छन् ।

घरको एउटा कुनामा खाने, अर्को कुनामा सुत्ने र अर्को कुनामा भाँडाकुँडा थन्क्याउने गर्छन् । कठिन हिसाबले जीवन चलाउँदै आएका स्थानीयको घरभित्र पानी चुहिन्छ । जाडो र गर्मी दुवैले सताउँछ।

स्थानीय केही ऋषिदेवका घरमा अझै विद्युत पुगेको छैन । घरमाथिबाट बिजुलीको लाइन गए पनि अति विपन्न अवस्थाका स्थानीय त्यसको उज्यालोबाट वञ्चित छन् ।

वडा कार्यालयमा सिफारिस लिन जाँदा प्रक्रिया र खर्चका कारण आफूहरूले मिटर जडान गर्न नसकेको उनीहरु बताउँछन् । ‘गाईबाख्रा बेचेर घर बनायौं । अब बत्ती जडान गर्ने पैसा छैन,’ पाण्डे ऋषिदेवले पीडा सुनाए ।

स्थानीय रुकमान्ति ऋषिदेव भन्छिन्, ‘स्थानीय सरकारलाई धेरैपटक भन्यौं । सबै नेताले हुन्छ मात्रै भने । तर, कसैले पनि फर्किएर हेरेनन् ।’ रातभर बच्चाहरूको सुरक्षाको चिन्ता, बत्ती नहुँदा कुकुर र सर्पको डरजस्ता समस्याले रुकमान्तिजस्तै स्थानीय भयभीत भएर बाँचिरहेका छन् ।

‘चुनाव आउँछ । नेता आउँछन् । तर, हामीलाई कसैले हेर्दैनन् । जितेर गएपछि फर्किएर गाउँ छिर्दैनन् । हामी त कसको भरमा बाँच्ने ?’ रुकमान्ति भन्छिन् । उनका अनुसार सिफारिसका लागि वडा कार्यालयले २ सय रुपैयाँ लिन्छ । तर, मिटर जडान गराउँदा थप खर्च लाग्छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकाहरु पैसा नभएकैले विद्युत सेवा उपभोग गर्नबाट वञ्चित भइरहेका हुन् । आर्थिक अभावका कारण अति विपन्न परिवारले बिजुली जडानको प्रक्रिया अघि बढाउन पाएका छैनन् ।

वडा सचिव श्याम चौधरी अति विपन्नका लागि विद्युतको सिफारिस निःशुल्क गरिएको बताउँछन् । ‘मिटर जडान पनि सहज बनाउने कोसिसमा छौं,’ उनले भने । तर, स्थानीय भन्छन्, ‘प्रक्रिया झन्झटिलो छ । लागत चर्को छ । हाम्रो समस्याको सुनुवाइ कतैबाट हुँदैन ।’

स्थानीयका लागि विद्युत मात्रै नभएर सुरक्षित आवास, स्वास्थ्य, शिक्षाको पहुँच तथा जग्गाको हक सुनिश्चितता धेरै टाढाको कुरा बनेको छ । उनीहरु अनिश्चित र अभावग्रस्त जीवन जिउन बाध्य छन् । ऐलानी जग्गाको बसोबासले झन् समस्या छ । उनीहरुको जग्गा जमिन छैन । जीवन संकटपूर्ण देखिन्छ।

अति विपन्न ऋषिदेव परिवारलाई सरकारको योजनाले घरको पिलर त उठ्यो । तर, जीवनको पिलर उठ्न सकेको छैन । उनीहरूको जीवनमा उज्यालो कहिले आउने हो भन्ने प्रश्न अहिलेसम्म उत्तरविहीन छ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.