
रंगेली । देश उज्यालो युगतर्फ उन्मुख भइरहेको छ । ‘घरघरमा बत्ती’ भनेर सरकारी नारा गुन्जिरहेको छ ।
तर, मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका केही परिवार अझै पनि अँध्यारोमा रात बिताउन बाध्य छन् । घरमा बिजुलीको सुविधा नहुँदा मट्टीतेलको प्रयोग गरेर कुपी बाल्नुपर्ने बाध्यतामा उनीहरु रहेका हुन् ।
समयले परिवर्तन बोके पनि दलेलीका गरिब परिवारको दैनिकी भने ३ दशकअघिकै जस्तो छ । उनीहरुले बिजुलीको उपभोग गर्न पाएका छैनन् । घरको छानो भरपर्दो छैन । असुरक्षित बसोबासले थप मर्कामा परेका छन् ।
झण्डै ३० वर्षअघि नहर छेउको ऐलानी जमिनमा बसाइ सरेका करिब ५० घरपरिवारमध्ये केहीमा मात्र विद्युत सेवा पुगेको छ । बाँकीले अझै बिजुलीको उज्यालो देख्न पाएका छैनन् ।
बिजुली पुगेका ठाउँमा पनि आर्थिक अभावका कारण विद्युत जडान गर्न नसकेको गुनासो स्थानीयको छ । सन्तानहरू शिक्षाबाट टाढा छन् । बिजुली नुहँदा रातको समयमा घरबाहिर निस्कन पनि डरमर्दो अवस्था छ ।
स्थानीय पाण्डे ऋषिदेवका घरमा २ छोरीसहित ४ जनाको परिवार बस्छ । घर भन्नु मात्रै, टिनको छाना र बाँसको टाटीले घेरिएको एउटा कोठा छ । एउटा बोरा र केही फाटेका कपडाको ओछ्यानमै परिवार सुत्न बाध्य छ। ऋषिदेव भन्छन्, ‘गर्मीमा सर्प आउने डरले रातभर सुत्न सकिन्न। घरको बाँस खस्छ कि हुरीले छाना उडाउँछ भन्ने चिन्ताले सताइरहन्छ ।’
स्थानीय सरकारले २ वर्षअघि आवास कार्यक्रमअन्तर्गत केही दलित परिवारलाई पिलर ठड्याइदिएको थियो । तर, घर अधुरै छोडिएको छ। घरको छाना भरपर्दो छैन । भित्ताहरू बाँसले छेकिएका छन् ।
घरको एउटा कुनामा खाने, अर्को कुनामा सुत्ने र अर्को कुनामा भाँडाकुँडा थन्क्याउने गर्छन् । कठिन हिसाबले जीवन चलाउँदै आएका स्थानीयको घरभित्र पानी चुहिन्छ । जाडो र गर्मी दुवैले सताउँछ।
स्थानीय केही ऋषिदेवका घरमा अझै विद्युत पुगेको छैन । घरमाथिबाट बिजुलीको लाइन गए पनि अति विपन्न अवस्थाका स्थानीय त्यसको उज्यालोबाट वञ्चित छन् ।
वडा कार्यालयमा सिफारिस लिन जाँदा प्रक्रिया र खर्चका कारण आफूहरूले मिटर जडान गर्न नसकेको उनीहरु बताउँछन् । ‘गाईबाख्रा बेचेर घर बनायौं । अब बत्ती जडान गर्ने पैसा छैन,’ पाण्डे ऋषिदेवले पीडा सुनाए ।
स्थानीय रुकमान्ति ऋषिदेव भन्छिन्, ‘स्थानीय सरकारलाई धेरैपटक भन्यौं । सबै नेताले हुन्छ मात्रै भने । तर, कसैले पनि फर्किएर हेरेनन् ।’ रातभर बच्चाहरूको सुरक्षाको चिन्ता, बत्ती नहुँदा कुकुर र सर्पको डरजस्ता समस्याले रुकमान्तिजस्तै स्थानीय भयभीत भएर बाँचिरहेका छन् ।

‘चुनाव आउँछ । नेता आउँछन् । तर, हामीलाई कसैले हेर्दैनन् । जितेर गएपछि फर्किएर गाउँ छिर्दैनन् । हामी त कसको भरमा बाँच्ने ?’ रुकमान्ति भन्छिन् । उनका अनुसार सिफारिसका लागि वडा कार्यालयले २ सय रुपैयाँ लिन्छ । तर, मिटर जडान गराउँदा थप खर्च लाग्छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाहरु पैसा नभएकैले विद्युत सेवा उपभोग गर्नबाट वञ्चित भइरहेका हुन् । आर्थिक अभावका कारण अति विपन्न परिवारले बिजुली जडानको प्रक्रिया अघि बढाउन पाएका छैनन् ।
वडा सचिव श्याम चौधरी अति विपन्नका लागि विद्युतको सिफारिस निःशुल्क गरिएको बताउँछन् । ‘मिटर जडान पनि सहज बनाउने कोसिसमा छौं,’ उनले भने । तर, स्थानीय भन्छन्, ‘प्रक्रिया झन्झटिलो छ । लागत चर्को छ । हाम्रो समस्याको सुनुवाइ कतैबाट हुँदैन ।’
स्थानीयका लागि विद्युत मात्रै नभएर सुरक्षित आवास, स्वास्थ्य, शिक्षाको पहुँच तथा जग्गाको हक सुनिश्चितता धेरै टाढाको कुरा बनेको छ । उनीहरु अनिश्चित र अभावग्रस्त जीवन जिउन बाध्य छन् । ऐलानी जग्गाको बसोबासले झन् समस्या छ । उनीहरुको जग्गा जमिन छैन । जीवन संकटपूर्ण देखिन्छ।
अति विपन्न ऋषिदेव परिवारलाई सरकारको योजनाले घरको पिलर त उठ्यो । तर, जीवनको पिलर उठ्न सकेको छैन । उनीहरूको जीवनमा उज्यालो कहिले आउने हो भन्ने प्रश्न अहिलेसम्म उत्तरविहीन छ।

























