विराटनगर । नेपाल चिकित्सक संघले आव्हान गरेको आन्दोलनमा विराटनगरको रानी आँखा अस्पतालले ऐक्यबद्धता जनाएको छ ।
चिकित्सकीय कारबाहीका लागि प्रभावित हुने ऐन बाझिँदा चिकित्सकहरू मर्कामा परेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित बनेको हो । विरोध स्वरूप चिकित्सकहरू कालोपट्टि बाँधेर काम गर्दै आएका छन् ।
उचित व्यवस्थापन नभएसम्म कालो पट्टि बाँध्ने र अन्य विरोधका कार्यक्रम जारी राख्ने संघले जनाएको छ ।
नेपालको अपराध संहिता, चिकित्सकहरूको अर्धन्यायिक निकाय नेपाल मेडिकल काउन्सिलमा व्यवस्था भएका चिकित्सकीय त्रुटि या लापरबाहीमा प्रयोग हुने प्रक्रिया र कानुनी व्यवस्था आपसमा बाझिएको संघले जनाएको छ ।
गत बिहीबार उपभोक्ता अदालतको फैसला सुने बित्तिकै नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या बारे जानकारी गराए पनि माग सम्बोधनमा खासै चासो नदेखाएपछि विरोधमा उत्रनु परेको संघले जनाएको छ ।
आन्दोलन स्वरूप रानी आँखा अस्पतालका चिकित्सकहरू पनि हातमा कालो पट्टी बाँधेर विरोध जनाउँदै ।