
काठमाडौं । सर्वोच्च अदालतमा ३ जना न्यायाधीश थपिएका छन् । थपिएसँगै सर्वोच्चमा प्रधान न्यायाधीशसहित न्यायाधीशको संख्या २० पुगेको छ ।
यसअघि १७ जना न्यायाधीश थिए । न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार ३ न्यायाधीश नियुक्त गरेका हुन् ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको जानकारी दिइन् । त्यसअघि सर्वोच्चका नवनियुक्त न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो ।
समितिले न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको थियो । समितिले न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाको ध्यानाकर्षणसमेत गराएको छ ।

























