
काठमाडौं । सर्वोच्च अदालतले महिमान सिंह विष्टको रिटमा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
विष्ट सर्वोच्चको निलम्बित शाखा अधिकृत हुन् । रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो ।
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले बुधबार यस्तो आदेश गरेको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुर्पक्षका लागि जेल पठाउन भन्दै पत्र लेखेपछि विष्ट सरकारी किर्ते सम्बन्धी मुद्दामा तानिएका हुन् ।
उनीविरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । सोही प्रकरणमा आफूमाथि सर्वोच्च अदालतबाट पनि विभागीय कारबाही भएको जिकिर गर्दै विष्टले रिट निवेदन दिएका थिए ।

























