
विराटनगर । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा जाने पार्टीका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि कुनै समय अमेरिकामा भिजिट भिसामा गएको आरोप लगाउँदै उनले प्रतिनिधिसभा बैठकमा बुधबार यस्तो बताएका हुन् ।
उनले सत्य तथ्य के हो जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह पनि गरेका छन् । ‘रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे । यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो,’ गृहमन्त्री लेखकले भने, ‘सुनेको छु जान्ने साथीहरूले बताइदिए मलाई पनि स्पष्ट हुने मौका मिल्थ्यो ।’
उनले भिजिट भिसामा गएर त्यही देशको ‘सिटिजनसिप’ प्राप्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि गरे । मन्त्री लेखकले भिजिट भिसामा गएर उतैको सिटिजनसिप लिएर बसेका र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने बताए ।
उनले प्रधानमन्त्रीको भ्रमण दलमा गएका को–को फर्किएनन् सूची दिन आग्रह गरे सूची दिन नसक्ने भए कल्पनामा अनुमानमा असत्यका पुलिन्दा नबाँध्न आग्रह गरे ।

























