विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार १८:०४

काठमाडौं । विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आइएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ।

बुधबार आयोजना गरिएको कार्यक्रममा अदालतका अध्यक्ष टेकनारायण कुँवरले अदालतबाट प्रवाह भएका सेवाको मूल्यांकनसँगै प्रमाणपत्र (एनएस/आइएसओ ९००१ः२०१५) प्राप्त भएको जानकारी दिए । न्याय सम्पादन भन्दा पनि प्रशासनको कार्यमूल्यांकनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको उनको भनाइ छ ।

Advertisement

आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण सफलता भएको भन्दै उनले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्तदुरुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए। अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको उल्लेख गरे ।

विशेष अदालतले चालु आर्थिक वर्षको असार २५ गतेसम्म २ सय ६ मुद्दाको लगतमध्ये १ सय २३ वटा फर्छ्यौट गरिसकेको छ । अध्यक्ष कुँवरले लक्ष्य अनुसारको फर्छ्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको बताए ।

आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ गरी डिजिटल फाइल बनाउने, कानुनको म्यादभित्र मुद्दा फर्छ्यौट कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ । न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारीता, जवाफदेहिता र सार्वजनिक विश्वास कायम राख्न थप प्रयत्न भइरहेको कुँवरले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.