
विराटनगर । धनकुटामा शनिबार साँझ खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।
धनकुटा नगरपालिका–६ परिचय मोडस्थित कोशी लोकमार्गको पेटीमा बस्ने क्रममा महिला खोल्सीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनकुटा–५ की अन्दाजी ३५ वर्षीया पूर्णिमा राई बाटोको साइडमा रहेको खोसीमा अचानक खसेकी थिइन् ।
करिब ७० मिटर गहिरो खोल्सीमा खसेकी उनको साँझ ६ः३० बजेतिर उद्धार गरिएको थियो । महिला खोल्सीमा खसेको जानकारी पाउनसाथ उद्धारका लागि धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्री नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
एसपी थापा नेतृत्वको टोलीले उद्धार गरेर महिलालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ । महिलाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

























