
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको स्पेन भ्रमणसँग सम्बन्धित व्यक्तिहरूको विषयमा गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्।
मन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई स्पेन भ्रमणमा प्रतिनिधिमण्डल बाहेक गएकाहरूको बारेमा निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डलबाहेक स्पेन जान अनुमति पाएका अन्य व्यक्तिहरू को–को थिए ? तिनीहरू कुन प्रक्रियामार्फत् गएका थिए ? कुन संस्थाको सिफारिसमा गएका थिए भन्ने सबै कुरा छानबिन गर्नुहोस्,’ निर्देशन दिँदै मन्त्री लेखकले भने ।
साथै, ती व्यक्तिहरूले भिजिट भिसा कसरी पाए ? त्यसमा कसको भूमिका थियो भन्ने विषय पनि अनुसन्धानको दायरामा पर्नुपर्नेमा उनको जोड छ । गृहमन्त्रीका अनुसार छानबिनको कामका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइनेछ। उनले दोषी पाइएको अवस्थामा कानुनी कारबाही हुने स्पष्ट पारे।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेनको भ्रमणमा गएका थिए। उनले नेतृत्व गरेको प्रतिनिधिमण्डल असार २० गते स्वदेश फर्किएको थियो। तर, प्रतिनिधिमण्डलसँगै गएका केही व्यक्ति भने नफर्किएको आशंका सार्वजनिक भएपछि विषय विवादित बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभाको असार २४ गतेको बैठकमा यस विषयमा संसदको ध्यानाकर्षण गराएकी थिइन्। उनले स्पेन गएका केही नेपाली नफर्किएको बारे सञ्चारमाध्यममा आएको समाचारलाई उदृत गर्दै छानबिनको माग गरेकी थिइन्।
सांसद गौतमले उठान गरेपछि उक्त मुद्दा राजनीतिक र सार्वजनिक चासोको विषय बनेको हो। अब प्रहरी अनुसन्धानका क्रममा त्यहाँ गएका अन्य व्यक्तिहरू कसरी र कुन उद्देश्यले गएका थिए भन्नेबारे विस्तृत विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

























