
सुनसरी । मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरा सडक खण्डमा निर्माण भइरहेका ३ वटा मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन पुलको करिब ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । ३ वटै खोलामा सुरक्षाका लागि दुवैतर्फ पेटी बनाइएको छ।
बाघ खोलामा ६० मिटर लामो पुलको काम ९० प्रतिशत पूरा भएको इञ्जिनियर उमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बगुवा खोलामा ३० मिटर लम्बाइको पुलको काम ९५ प्रतिशत तथा ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम पनि ९० प्रतिशत सम्पन्न भइसकेको छ ।
त्यस सडकखण्डमा पर्ने चौथो मोटरेबल पुल भने अझै सुरु हुन सकेको छैन । पुल धरान–चतरा सडककै रेल्वे भनिने खोलामा पर्छ । निर्माणस्थल वन क्षेत्रमा पर्ने भएकाले आवश्यक जंगल ‘क्लियरेन्स’ प्रक्रिया अहिलेसम्म टुंगोमा पुग्न नसक्दा काम सुरु हुन सकेको छैन ।
‘रेल्वे पुल वन क्षेत्रमा पर्ने भएकाले हामी वन ‘क्लियरेन्स’को प्रतिक्षा गरिरहेका छौं,’ इञ्जिनियर श्रेष्ठले भने, ‘मिल्नासाथ काम भइहाल्छ ।’ ४ वटा पुल निर्माणको जिम्मा पाएको सुनसरीकै सूर्य एण्ड सन्स कन्स्ट्रक्सन कम्पनीलाई २०७९ साल जेठमा सार्वजनिक खरिद प्रक्रिया पूरा गरी भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७५० रुपैयाँको ठेक्का दिइएको थियो ।
इञ्जिनियर श्रेष्ठका अनुसार ३ वटा पुल सञ्चालनयोग्य भइसकेका छन् भने छेउछाउको फिनिसिङ काम बाँकी छ । छेउछाउमा रुखहरू बाक्लो भएकाले फिनिसिङ ढिला भएको र रुख व्यवस्थापनपछिको काम छिट्टै सम्पन्न हुने उनले बताए ।
स्थानीयहरूका अनुसार पुल निर्माणअघि बर्खायाममा खोला तर्ने क्रममा निकै सास्ती हुने गर्थ्यो । बाढी र खोला पार गर्दा दुर्घटनासमेत हुने गरेको अनुभव उनीहरूको छ । ‘बर्खामा खोला पार गर्दा कठिन हुने र मानवीय क्षति पनि भएका थिए,’ इञ्जिनियर श्रेष्ठले बताए, ‘अब पुल बनेपछि यात्रा सुरक्षित र सहज भएको छ ।’
धरान–चतरा सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरानलगायतका बजारसम्म पुग्न अत्यावश्यक मार्ग हो । स्वास्थ्य सेवा, शिक्षा र कृषि उपजको बिक्री वितरणमा यो सडकको भूमिका महत्त्वपूर्ण रहेको स्थानीयको भनाइ छ ।
यस सडकखण्डमा पुल नहुँदा वर्षायाममा सेवा–सुविधा उपयोगमा बाधा हुने गरेको र त्यसबाट दीर्घकालीन रूपमा मुक्ति मिल्ने स्थानीयवासीको विश्वास छ । उनीहरूले पुल निर्माणपछि अब आवागमन व्यवस्थित हुने भन्दै राहत महसुस गर्न थालेका छन् ।

























