
काठमाडौं । गृह मन्त्रालयले मंगलबार ४ जना सहसचिवको सरुवा गर्दै अध्यागमन विभागको प्रमुख परिवर्तन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसअघि अध्यागमन विभागको महानिर्देशकका रूपमा कार्यरत गोविन्दप्रसाद रिजाललाई भने मन्त्रालयमै तानिएको छ ।
मन्त्रालय स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुखका रूपमा कार्यरत विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमै तानिएको छ । लामो समयदेखि विमानस्थलमार्फत भइरहेका मानव तस्करीका घटनालाई रोक्न नसकेको भन्दै कोइरालाको आलोचना भइरहेको थियो ।
विशेषतः पछिल्लो समय विदेश पठाउने बहानामा महिला तथा किशोरीहरूलाई दुबई, कुवेत हुँदै युरोपियन मुलुकतर्फ पठाइँदै गर्दा अध्यागमनबाटै सहज र अवरोधविहीन पास गराइएको भन्दै प्रश्न उठ्दै आएको थियो । यस्ता घटनामा अध्यागमनको संलग्नता, कमजोरी वा बेवास्तालाई लिएर व्यापक चासो बढ्दै गएको बेला कोइरालालाई मन्त्रालय तानिएको हो ।
कोइरालाको स्थानमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ । गृह प्रशासनमा लामो अनुभव रहेका घिमिरेलाई संवेदनशील मानिने अध्यागमन कार्यालयको जिम्मेवारी दिइएको छ ।
यसैबीच, गृह मन्त्रालयले सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन गरेको छ । श्रेष्ठ विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहेर कार्यानुभव प्राप्त अधिकारी हुन् ।
यसरी अध्यागमन विभागको नेतृत्वदेखि विमानस्थल अध्यागमन प्रमुखसम्म फेरबदल हुनुलाई गृह मन्त्रालयको रणनीतिक निर्णयका रूपमा हेरिएको छ । मन्त्रालयका १ उच्च अधिकारीका अनुसार विमानस्थल र अध्यागमन विभागमा देखिएका गम्भीर चुनौतीहरूलाई ध्यानमा राखेर नेतृत्व परिवर्तन गरिएको हो ।
विगत केही समयदेखि अध्यागमन प्रणालीमा सुधारको माग बढिरहेको छ । अध्यागमनका अधिकारीहरूकै संलग्नतामा हुने गैरकानुनी गतिविधिहरू, एजेन्टहरूसँगको मिलेमतो, दुबई, कतार, ओमान, मलेसिया हुँदै हुने मानव ओसारपसारजस्ता विषयहरूमा विभिन्न अनुसन्धान निकायहरूले निगरानी गर्दै आएका छन् ।
यस्ता संवेदनशील पृष्ठभूमिमा गरिएको पछिल्लो सरुवा निर्णयले सरकारले अध्यागमन सुधारतर्फ गम्भीरता देखाएको संकेत गर्छ । यद्यपि, कोइरालामाथि लागेको आरोपबारे आधिकारिक छानबिन प्रक्रिया सुरू भएको छैन । मन्त्रालयमा तानिएसँगै कोइरालाले के कस्तो जिम्मेवारी पाउने हुन् र उनीमाथि आन्तरिक अनुशासन प्रक्रिया अघि बढाइने हो कि भन्ने स्पष्ट भइसकेको छैन ।
गृह मन्त्रालयले पछिल्लो समय जिल्ला प्रशासन कार्यालयदेखि सुरक्षा निकायसम्मको समन्वय र निगरानीलाई प्राथमिकतामा राख्दै आएको छ । यही क्रममा अध्यागमन प्रणालीमा देखिएको कमजोरीलाई सुधार गर्ने उद्देश्यले जिम्मेवारी हेरफेर गरिएको मन्त्रालय स्रोतले बतायो ।

























