कोशीका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार १९:३५

विराटनगर । कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशीमा १४ वटा जिल्ला छन् ।

पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढंगले सञ्चालन गर्न प्रदेश सरकारले बिहीबारबाट पूर्वाधार कार्यालय स्थापना गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित प्रदेशका सबै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको जानकारी दिए । उनले प्रदेश सरकारको विकासको कामलाई तत्कालै अगाडि बढाउन र स्थानीयको प्राथमिकताको आवश्यकतालाई मध्यनजर गर्दै सरकारको योजना अनुसार कार्यालय स्थापना गरिएको बताए ।

उनले कार्यालय स्थापना भएसँगै चालु आर्थिक वर्षमा गर्नुपर्ने कामहरु असोज महिनाभित्रमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । कार्कीले अब जिल्ला–जिल्लामा कार्यालय स्थापना भएपछि असारे विकासको प्रथा पनि अन्त्य हुने बताए ।

‘मन्त्रीज्यूहरुले प्राथमिकता निर्धारण गर्न नसक्दा समानुपातिक रुपमा बजेटको विनियोजन हुन नसकेको गुनासो नागरिक र जनप्रतिनिधिहरुबाट आएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘अब यसलाई हटाउन यस कार्यालयले जिल्लाको प्राथमिकता निर्धारण गर्नुपर्छ ।’ मुख्यमन्त्री कार्कीले सुनसरी जिल्ला आफ्नो गृहजिल्ला नभएपनि त्योभन्दा बढी लगानी गरेको उल्लेख गर्दै प्रदेशकै ठूलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसैबर्षबाट सञ्चालनमा आउने बताए ।

त्यसका लागि २ वर्षभित्रमा अर्बौंका संरचना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले रामधुनी र कोशी टप्पुलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गरे । उनले दुहवी–इनरुवा सडकको यसै वर्षबाट ठेक्का लगाएर निर्माण काम अगाडि बढाउने र कौवाखोच सडक निर्माणको लागि आवश्यक सहकार्यलाई तीव्रता दिएको बताए ।

त्यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले खोटाङमा कार्यालय उद्घाटन गरेका छन् । त्यसैगरी, साउन साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ।

यसअघि प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार कार्यालय गरेर ९ वटा कार्यालय थिए। अब सबै जिल्लामा गरेर १४ वटा पूर्वाधार कार्यालय रहने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.