
विराटनगर । जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज साउन ३ गते रातिदेखि साउन ५ गतेसम्म देशभर अत्याधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागका अनुसार साउन ३ गते रातिदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । वर्षाका कारण पूवी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायत साना ठूला नदीमा बाढीको सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तह पार गर्न सक्ने स्थितिमा पुग्न सक्ने अनुमान छ ।
पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटिय क्षेत्र प्रभावित हुनेछन् । भोलि बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको छ ।
मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ । पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा श्रावण ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको छ ।

























