
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २८ हजार ५९७ उजुरी परेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सो उजुरी परेको हो । यी उजुरी भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विषयसँग सम्बन्धित छन् ।
२०८१/८२ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३७ हजार २६ थियो ।
उजुरीमध्ये सङ्घीय सरकारसँग सम्बन्धित १२ हजार ४७५, प्रदेश सरकारसँग सम्बन्धित चार हजार ६१८ र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९३३ रहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ उजुरी फछ्यौट भएको छ । बाँकी सात हजार ३२३ चालु आवमा जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ ।
आयोगमा प्राप्त उजुरीमध्ये छ हजार ७१५ विभिन्न निकायमा आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ५८६ सुझावसहित कार्यान्वयनका लागि लेखी पठाइएको छ ।

























